वसन्त ऋतुको स्वागतमा आहा ! कति राम्रा फूल
काठमाडौं । ऋतुहरूको राजा वसन्त ऋतुको रमणीय मौसम कसलाई मन नपर्ला र ! चिसो मौसमको अन्त्यसँग सुरु भएको घमाइला र रमाइला दिनमा चराचुरुंगीको चिरिविरी आवाजले मन प्रफुल्लित बनाउँछ नै । अझ चिसोले पात झरेर खंग्रङ परेका रूखविरुवामा पालुवा खेल्दा र फूल फुल्दा कसको मन नरमाउला ?
शिवरात्री सकिएर रङहरूको चाड होलीको प्रतीक्षामा रहँदाको यो मौसममा ढकमक्क फुलेका फूल देख्दा मन प्रसन्न नहुने कुरै हुँदैन । यस्तै रमणीय वातावरण देख्न सकिन्छ अहिले काठमाडौं उपत्यकाका सडक पेटीमा पनि । पेटिमा राखिएका गमलामा फूलेका राता, पहेँला, निला फूलले शहरको मात्रै होइन पदयात्रीलाई समेत आनन्दित बनाएको छ ।
न जाडो न गर्मी ठीक्क खालको यो मौसम बोटविरुवा सक्रिय भई हुर्कन्छन् फुल्छन र फल्छन् । अझ यसमा प्रविधिको मिश्रणले झन् सुनमा सुगन्ध थपिदिन्छ । कतिपय व्यक्ति त ती रमाइला क्षणलाई आफ्नो क्यामेरामा कैद गरेर राख्न लालायीत देखिन्छन् । हेरौँ वसन्त ऋतुले ढकमक्क भरिएको काठमाडौंका सडक पेटी :
फूल वसन्त ऋतु