बैंकले घटाउन थाले कर्जाको ब्याजदर
काठमाडौं । उद्योग व्यवसायीले चर्काे ब्याजको व्यापक विरोध गरेपछि बैंकहरूले बिस्तारै कर्जाको ब्याजदर घटाउन थालेका छन् । पुसको सुरुदेखि नै ब्याजदर घट्ने भनिए पनि पुसको दोस्रो सातातिर मात्रै केही बैंकले कर्जाको ब्याजदर घटाउने प्रयास गरेका छन् । दुई महिनाअघि बैंकको आधार दर (बेसरेट) १० दशमलव ३० प्रतिशतको हाराहारीमा थियो भने अहिले घटेर ९ दशमलव ५० प्रतिशतमा झरेको छ । जसले गर्दा ब्याजदर घट्न थालेको छ । यतिबेला सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा सरकारी स्वामित्वमा सञ्चालित वाणिज्य बैंकहरूले बेसरेट सबैभन्दा तल झारेका छन् भने निजी बैंकहरूले पनि विस्तारै घटाउँदै लगेका छन् । राष्ट्रिय वाणिज्यको सबैभन्दा कम बेसरेट छ ।
यस बैंकको बेसरेट ५ दशमलव ६० प्रतिशत छ । ४ प्रतिशत प्रिमियम जोड्दा पनि यस बैंककोे ब्याजदर १० प्रतिशतभन्दा कमै हुन्छ । बैंकिङ प्रणलीमा तरलता केही सहज भएपछि बैंकहरूले विस्तारै बेसरेट घटाउँदा कर्जाको ब्याजदर घट्दै गएको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सेन्चुरी कमर्सियल बैंकको बेसरेट सबैं बैंकको तुलनामा बढी छ । सयस बैंकको बेसरेट ११ दशमलव ५० प्रतिशत छ । यसमा प्रिमिय जोड्दा कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारीमा पुग्छ ।
बैंकले बेसरेटमा ४ देखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । बेसरेट कम हुँदै जाँदा कर्जाको ब्याजदर कम र बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ । सरकारी स्वामित्वको नेपाल बैंकको ६ प्रतिशत बेसरेट छ । त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकको ७ दशमलव ६७, नबिल बैंकको ७ दशमलव ९१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ८ दशमलव ९६ प्रतिशत बेसरेट छ । त्यसैगरी, एभरेस्ट बैंकको ८ दशमलव २२ प्रतिशत, ग्लोबल आईएमई बैंकको ९ दशमलव ७, हिमालयन बैंकको ९ दशमलव १३, एनआईसी एसियाको ९ दशमलव ३० बेसरेट छ ।
बैंकको १०, बैंक अफ काठमाण्डुको १० दशमलव २८, प्राइम कमर्सियल बैंकको १० दशमलव १७, लक्ष्मी बैंकको १० दशमलव ३६, नेपाल बंगलादेश बैंकको १० दशमलव ४१, सिद्धार्थ बैंकको १० दशमलव ५९, सनराइज बैंकको १० दशमलव ६३, एनसीसी बैंकको १० लशमलव ७६, माछापुछ्रे बैंकको १० दशमलव ७८ प्रतिशत बेसरेट छ ।
त्यस्तै, जनता बैंकको १० दशमलव ७६, मेगा बैंकको १० दशमलव ८३, सिटिजन्स बैंकको ११, कृषि विकास बैंकको ११ दशमलव १५, सिभिल बैंकको ११ दशमलव २४ र कुमारी बैंकको ११ दशमलव ३८ प्रतिशत बेसरेट छ ।
केही वर्ष यता बैंकहरूले आक्रामक रूपले लगानी गर्दा बैंकिङ प्रणालीमा लगातार तरलता(लगानी योग्य पुँजी) अभाव भएको थियो । जसका कारण बैंकहरूले महँगो ब्याजमा निक्षेप उठाउनुपरेको थियो । महँगोमा निक्षेप उठाउँदा बैंकको बेसरेट बढ्ने भएकाले कर्जाको ब्याजदर पनि स्वतः बढ्ने गर्छ । त्यसैले बैंकले महँगोमा उठाएको निक्षेप ब्याजदर १५ प्रतिशतभन्दा बढी पुगेकोे भन्दै उद्योग व्यवसायीले आन्दोल नै चलाएपछि बैंकहरूलाई सरकारको दबाबपछि विस्तारै ब्याजदर घट्न थालेको हो । बेसरेट निर्धारण गर्दा बैंङको निक्षेप लागत (कस्ट अफ फन्ड), वैधानिक तरलता अनुपात (एसएलआर), अनिवार्य नगद अनुपात (सीआरआर) तथा सञ्चालन खर्च जोडेर गरिने व्यवस्था छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।