बलात्कार आरोपमा एक युवक पक्राउ
काभ्रेपलाञ्चोक। तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बर्दियाको मधुवन नगरपालिका–१ का २६ वर्षीय गोविन्द परियारलाई गाडी चढेर भाग्ने क्रममा काठमाडौँस्थित रत्नपार्कबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार परियार घर बनाउने काममा केही समयदेखि काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा बस्दै आएका थिए । गत शनिबार राति १ बजे ती किशोरीलाई फोन गरी भेट्न बोलाएर जबरर्जस्ती गर्दा स्थानीयवासीले थाहा पाएपछि परियार भागेको पीडित परिवारद्वारा गत आइतबार काभ्रेपलाञ्चोक प्रहरीमा दर्ता किटानी जाहेरीमा उल्लेख गरिएको छ ।
पक्राउ परेका युवकको सोमबारै म्याद थप गरी घटनाको अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । मङ्गलबार नै पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ । मुलुकी संहितामा आरोपितलाई जबरर्जस्ती करणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।
काभ्रेपलाञ्चोक प्रहरीले यही चैत ३ गते मण्डनदेउपुर नगरपालिका–७ कोदारीटोलकी एक १४ वर्षकी किशोरीको सामूहिक बलात्कारमा संलग्न चारजना युवकलाई पनि पक्राउ गरी जबरर्जस्ती करणी कसुरमा मुद्दा चलाएको छ ।