अर्थ

नेपालीलाई ऋणको भार थपिँदै : प्रतिव्यक्ति ऋण ३२ हजार ९७८ रुपैयाँ पुग्यो

नेपालीलाई ऋणको भार थपिँदै : प्रतिव्यक्ति ऋण ३२ हजार ९७८ रुपैयाँ पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ। महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५/७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ। आन्तरिक ऋण तीन खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ। यस्तै, वैदेशिक ऋण पाँच खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ छ। यो ऋण आवको कुल गार्हस्थ उत्पादनको ३१.६८ प्रतिशत हो। त्यसमा आन्तरिक ऋण १३ प्रतिशत र वैदेशिक ऋण १८.६७ प्रतिशत छ। 

 

कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधारमान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ। गत आवको प्रतिव्यक्ति ऋण दायित्व ३१ हजार सात सय ७५ रुपैयाँ छ। महालेखा नियन्त्रक कार्यालयले गत वैशाखसम्म यस्तो ऋण २९ हजार रुपैयाँ पुगेको जनाएको थियो। यसले ऋणको भार थपिँदै गएको देखाउँछ।

 

आर्थिक सर्वेक्षणले आन्तरिक र बाह्य ऋण ९ खर्ब ४७ अर्ब पुगेको देखाए पनि त्यसको सही परिचालन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको अर्थविद् बताउँछन्। ‘ऋणभार बढेर चिन्तागर्नुपर्ने विषय त होइन। तर मुलुकमा ऋण सही ढंगले परिचालन गर्न सक्नुुपर्छ’, अर्थविद् केशव आचार्यले भने, ‘सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ३१.६८ प्रतिशत पुग्नु अर्थतन्त्रका लागि चिन्ता गरिहाल्नुपर्ने विषय नभए पनि प्राप्त ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्ने मुख्य विषय हो।’

 

हालसम्मको ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा प्रतिव्यक्ति ऋण भार ३२ हजारको हाराहारीमा पर्न आउँछ। आचार्यले भने, ‘आफैमा ऋण समस्या हैन। ऋण कसरी प्रयोग ग‍र्‍यौं, कहाँ लगानी हुन्छ भन्नेमा भर पर्छ।’ उनका अनुसार ऋणले पुँजी निर्माण गर्ने क्षेत्रमा लगानी गर्न सकेमात्र मुलुकले लाभ लिन सक्नेछ। अधिकांश ऋण पुँजीगत खर्चमै राखेर विकास निर्माणकै काममा लगानी गरिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

ऋणको भार

विशेष