अर्थ रोजगार

बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु

बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु

दमौली। नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँमा बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु गरेको छ ।

 

प्रत्येक स्थानीय तहका वडाबाट बेरोजगार हुनेको तथ्याङ्क सङ्कलन शुरु भएको देवघाट गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक धु्रव आचार्यले जानकारी दिए । आचार्यका अनुसार निवेदन सङ्कलनका लागि चैत मसान्तसम्मको म्याद रहेको र निवेदन सङ्कलन भएपछि सबै निवेदन गाउँपालिकामा आइपुग्नेछ । वडाबाट आएका सूची गाउँ कार्यपालिकाले पास गरेपछि रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत् सम्बन्धीत मन्त्रालयको सर्भरमा अद्यावधिक हुने व्यवस्था छ ।

 

त्यसपछि सूचीमा सूचीकृत भएका व्यक्तिलाई सेवा केन्द्रले लाभग्राहीको परिचयपत्र वितरण गर्ने संयोजक आचार्यले बताए । प्रत्येक वडा कार्यालयमार्फत् सङ्कलन भएका बेरोजगार हुनेको विवरण देशभरिबाट नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको विभागमा अद्यावधिक हुनेछ ।

 

शुक्लागण्डकी नगरपालिकामा समेत प्रत्येक वडा कार्यालय नै निवेदन सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ । शुक्लागण्डकीका रोजगार संयोजक प्रतिभा जिसीले नगरपालिकाको १२ वटै वडामा बेरोजगार दर्ताका लागि निवेदन फारम पुर्याइएको जानकारी दिए ।

 

यस्तै जिल्लाका अन्य स्थानीय तहमा समेत बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु भइसकेको छ । रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्नेछन् ।

 

कार्यक्रममा सहभागी हुनका लागि सय दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भर्न सक्नेछन् । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम काम समेत नपाएका व्यक्तिलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउनेछ । परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दाबी गर्न सक्नेछन् । त्यस्ता बेरोजगारलाई न्यूनतम सय दिनको प्राप्त हुन आउने पारिश्रमिकवापतको ५० प्रतिशत रकम उपलब्ध गराउने सरकारको योजना छ । परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीमा भएको खण्डमा भने निर्वाह भत्ता दाबी गर्न पाइनेछैन ।

विशेष