सप्तरीमा खाली जग्गा अतिक्रमण गर्न खोज्ने लखेटिए
सप्तरी। सप्तरीको कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयौँ मानिसलाई प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरी आज लखेटेको छ ।
कञ्चनरुप नगरपालिका १ वैरवा नजीक आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका करीब पाँच सय मानिस लखेटिएका हुन् । घण्टौँसम्म खाली गर्न सम्झाउँदा नमानेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरी आरक्षबाट उनीहरुलाई लखेटेको सप्तरी प्रहरीले जनाएको छ । उनीहरुले नजीकैको मानव वस्तीमा आश्रय लिएका छन् ।
सो क्रममा मङ्गोलियन नेशनल अर्गनाइजेशनका शक्ति चाम्लिङ राईसहितलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए । अर्गनाइजेशन प्रदेश नं २ का इञ्चार्ज राईको अगुवाइमा सुकुम्बासी बस्ती बसाउन उनीहरु आएका हुन् । सरकारले जग्गा बाँडिरहेको भ्रम फिजाउँदै सुकुम्बासीलाई उक्त क्षेत्रमा बोलाइएको पाइएको छ ।
अर्गनाइजेशनले नै जग्गा वितरण भइरहेको हल्ला फैलाएर मानिस जम्मा गर्न लगाएको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बस्ती नै बसाउने योजनाका साथ आएका उनीहरुलाई प्रहरी खटाएर जग्गा खाली गराइएको प्रजिअ पौडेलले बताए । घर बनाउन चाहिने सामग्री, दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका उनीहरुको घर बनाएर बस्ती बसाउने योजना रहेको प्रहरीको भनाइ छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कञ्चनरुप नगरपालिका