अर्थ

लगानी सम्मेलनले औद्योगिक उन्नयनमा ऊर्जा थप्ने निजी क्षेत्रको विश्वास

लगानी सम्मेलनले औद्योगिक उन्नयनमा ऊर्जा थप्ने निजी क्षेत्रको विश्वास

काठमाडौं। नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले यसै साता राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलनबाट देशको औद्योगिक उन्नयनमा ऊर्जा थप्ने विश्वास निजी क्षेत्रका उद्यमी व्यवसायीले व्यक्त गरेका छन् ।

 

सङ्घीयतासहितको नयाँ संविधान कार्यान्वयनसँगै मुलुकको इतिहासमा पहिलोपटक स्थिर सरकार गठन भएको परिप्रेक्षयमा हुन लागेको लगानी सम्मेलनलाई उनीहरूले समृद्धितर्फको अबको यात्रामा सहयोगी माध्यम बन्नसक्ने बताएका छन् । अनुभव, सीप र दक्षता आदानप्रदान र उद्योगका लागि दीर्घकालीन रुपमा पूँजी जुटाउन आयोजना भएको लगानी सम्मेलनलाई उनीहरूले स्वर्ण अवसरको संज्ञा दिएका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न तथा स्वदेशमा नै धेरैभन्दा धेरै रोजगारीका अवसर सृजनाका निम्ति नीतिगत एवं प्रक्रियागत सुधार गर्दै लगानीको वातावरण तयार गर्न सरकारीस्तरबाट भएका प्रयासको सराहना गर्छिन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई मूर्तरुप दिन वर्तमान सरकारका प्रमुखबाट भएको अथक प्रयास, त्यसमा निजी–सार्वजनिक क्षेत्रले देखाएको तत्परताले सकारात्मक परिणाम देखाएको उनको ठम्याइ छ ।

 

नेपाल सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा यही शुक्रबार र शनिबार हुने सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगलगायत ७७ वटा परियोजनामा लगानी जुटाउने प्रयास हुनेछ ।

 

विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत ‘डिजिटल’ अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर र नेपालमा लगानीको अनुभवका साथै लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान सम्मेलनमा हुने विषयबाट आफूहरू उत्साहित भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउछन् ।

 

विसं २०७३ मा आयोजित लगानी सम्मेलनपछि देशमा भएको राजनीतिक परिवर्तन तथा लगानीको वातावरणमा आएको सुधार, लगानीका सम्भाव्य नयाँ क्षेत्र र बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तनबारे लगानीकर्तालाई जानकारी गराउने अर्को उद्देश्य प्राप्तिमा सफलता मिल्ने ठान्छन् नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा ।

 

श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय ऐनको नियमावली, विदेशी विनिमय नियमन गर्ने ऐन, सार्वजनिक खरीद नियमावली संशोधन भएकाले लगानीकर्ताले झण्झट झेल्न नपर्नेलगायत नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश प्रवाह सम्मेलनबाट हुने अपेक्षा गरिएको छ ।

लगानी सम्मेलन

विशेष