पर्यटन

शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

भीमदत्तनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ ।

 

महोत्सवको उद्घाटन गर्दै सांसद डा दीपकप्रकाश भट्टले धार्मिक, सांस्कृतिक, कला साहित्य र विविधताको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए । पर्यटन पनि समृद्धिको एउटा महत्वपूर्ण आधार रहेको भन्दै उनले शुक्लाफाँटालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, नाटा सुदूरपश्चिम, होटल व्यवसायी सङ्घलगायतको सहकार्य र भीमदत्तनगरपालिकाको संयोजनमा यहाँका नौवटै स्थानीय तह महोत्सवमा सहभागी छन् । महोत्सव चैत २१ गते सम्म चल्नेछ ।

 

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटनका लागि महत्वपूर्ण क्षेत्र भएकाले प्रचारप्रसार गर्न ‘जाउँ है शुक्लाफाँटा’ अभियानअन्तर्गत महोत्सव आयोजना गरिएको जानकारी दिए । उनले निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन मार्ग निर्माण, झोलुङ्गे पुल नजिक उद्यान र पार्क निर्माण, राना थारू घरवास प्रवर्द्धनका लागि सहयोगसमेत गरिने बताए ।

 

कूल ३०५ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा बाह्रसिङ्गा, दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिको लागि प्रसिद्ध छ ।

विशेष