अपराध सुरक्षा

हजारभन्दा बढी स्थानमा सिसी क्यामरा जडान

हजारभन्दा बढी स्थानमा सिसी क्यामरा जडान

काठमाडौं| नेपाल प्रहरीले मुलुकका विभिन्न क्षेत्रमा एक हजार ३ सय ५७ स्थानमा सिसी क्यामरा जडान गरेको छ । अपराध नियन्त्रण गर्ने उद्देश्यले आर्थिक वर्ष शुरुआतदेखि अहिलेसम्म विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा सातै प्रदेशका संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

 

उनका अनुसार प्रदेश नं १ मा १ सय ५७, प्रदेश नं २ मा १ सय ९१, प्रदेश नं ३ मा ८५, गण्डकी प्रदेशमा १ सय ४५, प्रदेश नं ५ मा २ सय २५, कर्णाली प्रदेशमा २ सय १२ र सुदूरपश्चिम प्रदेशका १ सय ६५ स्थानमा क्यामरा जडान भएका छन् । महानगरीय प्रहरी कार्यालयअन्तर्गत १७७ स्थानमा सिसी क्यामरा जडान गरिएको छ ।

 

उनले सिसी क्यामराका कारण गम्भीर अपराधका घटनामा दोषी पत्ता लगाउन सहज भएको उल्लेख गर्दै प्रहरीले अन्य क्षेत्रमा समेत क्यामरा राख्ने योजना बनाएको बताए । अहिलेसम्म विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार १ सय २३ र प्रहरीको आफ्नै बजेटबाट २ सय ३४ स्थानमा क्यामरा राखिएको छ । सोमा ९ सय २५ क्यामरालाई भने प्रहरीले आफैँ निगरानी गर्दै आएको छ ।

 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहबाट आवश्यक बजेट छुट्याएर क्यामरा राख्ने कामसमेत भइरहेको छ । अहिलेसम्म ७ सय ५१ स्थानीय तहसँग सम्झौता गरी प्रहरी र समुदायले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा समाजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

 

गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७ सय ४० पालिका समिति, पाँच हजार २ सय ९३ वडा समिति, चार हजार ८ सय ८८ टोल समिति र पाँच हजार ८ सय ७४ विद्यालय सम्पर्क समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विशेष