अर्थ कर्पोरेट

निवेदन दिएको १५ दिनभित्रै विदेशी लगानीलाई स्वीकृति

निवेदन दिएको १५ दिनभित्रै विदेशी लगानीलाई स्वीकृति

काठमाडौं । मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले प्रक्रिया पुर्‍याएर निवेदन दिएको १५ दिनभित्रै स्वीकृति दिने गरी कानुन तयार गरेको छ। वैदेशिक लगानी आकर्षित गर्ने भन्दै यसअघिको झन्झटिलो कानुन खारेज गरी नयाँ ल्याउन लागेको हो।

 

विदेशी लगानी स्वीकृति प्रक्रिया सरलीकरण गर्न सरकारले संघीय संसद्मा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सबन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरेको छ।

 

अहिलेसम्म विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ प्रचलनमा छ। कागजात पूरा भएको देखिएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र विदेशी लगानी स्वीकृत गर्न सक्ने विधेयकको दफा १५ मा उल्लेख छ।

 

एक अर्ब रुपैयाँसम्म लगानी गर्ने विदेशी लगानीकर्ताले उद्योग विभागमा र त्योभन्दा बढीको लगानी भए उद्योग तथा लगानी प्रवद्र्धन बोर्डमा कम्पनी दर्ता गराई काम सुरु गर्नुपर्ने व्यवस्था विधेयकमा छ।त्यसका लागि नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले लगानी भित्र्याउने समय तालिका र लगानीको कार्ययोजना सहितको विवरण खुलाई स्वीकृतिका लागि तोकिए अनुसारको विवरण खुलाई बोर्ड वा विभागमा निवेदन दिन सक्नेछन्। त्यसरी, नेपाल भित्रने रकम राष्ट्र बैंकमार्फत मात्रै ल्याउन सकिने व्यवस्था गरिएको छ।

 

नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले लगानी गर्ने रकम र लगानीको हिस्साको अधिकतम सीमामा कुनै पनि रोकावट नगर्ने भन्दै विधेयकमार्फत सरकारले लगानीमा अधिकतम छुट प्रदान गर्न खोजेको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

विदेशी लगानी

विशेष