धरापमा रुद्राक्ष व्यवसाय, सरकार नै संगठितरुपमा व्यवसाय डुबाउने खेलमा (भिडियोसहित)
प्रदेश १ लाई रुदाक्षको राजधानी बनाउन माग
छिमेकी दुई विशाल मुलुक भारत र चीनमा ‘पूजा सामाग्री’का नाममा भन्सार छूट पाउँदै आएको रुद्राक्ष नेपालमा तस्करी सामानको रुपमा मूल्यांकन हुने गरेको भन्दै व्यवसायी आक्रोशित छन् । उनीहरुको ठहर छ– ‘सरकार स्वयं संगठित रुपमा यो व्यवसाय धराशायी बनाउने काममा संगठित रुपमा लागेको छ ।’
रुद्राक्ष व्यवसायी संघका अध्यक्ष सुरेशकुमार चापागाईंका अनुसार नेपालका ४० जिल्लामा यसको व्यावसायिक खेती थालिएको छ । ऋण, धन गरेर कृषकले अरबौं पूँजी यसमा परिचालन गरेका छन् । भारत र चीनमा नेपाली रुद्राक्षको माग छ । यद्यपि निकासी त परै जाओस, नेपालमै एक ठाउँबाट अर्को ठाउँ यसको बेचविखन र ओसारपसारमा बन्देज रहेको व्यवसायीको अनुभव छ ।
अध्यक्ष चापागाईं भन्नुहुन्छ– ‘रुद्राक्ष भन्नेवित्तिक्कै सरकारी संयन्त्रमा अवैध लागू पदार्थको जस्तो बुझाई छ । एक ठाउँबाट अर्को ठाउँ लैजान व्यवसायीहरु मुख बुझो लगाउन बाध्य छन् । प्रहरीको त दृष्टिकोण नै गलत छ । भन्सारको हालत त्यही छ । राजनीतिक नेतृत्व एक कानले सुन्छ, अर्कोले उडाउँछ । यस्तै अवस्था रहने हो भने रुद्राक्षका रुख ढालेर दाउरा बनाउनुको विकल्प छैन ।’
भोजपुरको दिङलामा आबाल ब्रम्हचारी गुरु षडानन्दले रुद्राक्षको विरुवा सर्वप्रथम रोपेका थिए । यसको व्यावसायिकता सात दशकअघि शुरु भएको हो । दिङलाका स्थानीयबासी प्रयागराज चापागाईं बनारस लगेर यसको बेचविखन शुरु गरेका थिए । ‘भारत, चीन, इण्डोनेशियामा पनि थुप्रै प्रजातिका रुद्राक्ष पाइन्छ । तर नेपालको जस्तो उच्च गुणस्तरको रुद्राक्ष संसारमा कहिँ पाइन्न । शास्त्रले उल्लेख गरेअनुसार हिमवत् खण्डको हावापानी रुद्राक्षका लागि उपयुक्त भएकाले पनि यहाँको उत्पादन गुणस्तरीय भएको हो ।’ यस्तो अवसर हुँदाहुँदै पनि यसलाई व्यावसायिक प्रतिस्पर्धामा उतार्न असमर्थ रहेको चापागाईंको बुझाइ छ– ‘मुस्लिम देश इण्डोनेशियाले रुद्राक्षका आकर्षक सामग्री बनाएर हाम्रो बजारमा तहल्का पिटेको छ ।
चीनले व्यापारिक सामान बनाएर विश्वमा आफ्नो सान, मान र आर्जन हासिल गरेको छ । हामी भने यो समयमा आएर एकमुखे रुद्राक्ष र करोडौंको हावादारी हिसावमा अल्मलिएका छौं । सरकार मात्र हैन, सञ्चारमाध्यम र सर्वसाधारणमा समेत यस्तै छाप परेको छ ।’
व्यवसायीहरुले एक नम्बर प्रदेशलाई नै रुद्राक्षको राजधानी बनाउन माग गरेका छन् । यो मागले विश्वमा रहेका दुई अरब हिन्दुहरुको ध्यान खिच्ने उनीहरुको ठम्याइ छ । तपाईंहरु सरकारले तोकेको करको दायरामा हुनुहुन्छ ? हाम्रो प्रश्नमा अध्यक्ष चापागाईं व्यवसायीहरु सरकारले तोकेको विधि, प्रक्रियाबाट अलग नरहेको बताउनुहुन्छ । यसको विक्री क्रेता र विक्रेताको भावनात्मक मोलमोलाईबाट हुने भएकाले वर्षमा यसको कारोबार कति हुन्छ भन्ने तथ्यांक कसैसंग छैन । रुद्राक्ष र बोधिचित्तबाट रातारात धनी हुन पाइन्छ भन्ने ठानेर थुप्रै कृषक यसतर्फ आकर्षित छन् ।
कुनै वर्ष गाउँगाउँमा छ्यापछ्याप्ती चिनिया व्यापारी पुग्ने फेरि अर्को वर्ष हराउने गरेकाले यसको बजार पनि निश्चित छ । भारत र नेपालमा देवताका नाममा चढाइने परम्परागत माला र प्रसादमा सीमित हुँदा त्यो बजारले कृषकलाई कुनै फाइदा हुँदैन । एकप्रकारले चिनियाँ व्यापारीको मनमौजीमा यहाँको व्यवसाय चल्ने गरेको छ । यही कारण यार्सागुम्बाको व्यापार यो वर्ष चौपट भएको छ ।