अर्थ

सौर्य एयरलाइन्सले तिर्‍यो सेवा शुल्कबापतको ५० लाख, फागुन २४ देखि उडान

सौर्य एयरलाइन्सले तिर्‍यो सेवा शुल्कबापतको ५० लाख, फागुन २४ देखि उडान

काठमाडौं ।  निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम तिर्न अटेर गरेपछि विमानस्थलले उक्त एयरलाइन्सको उडान रोकेको थियो । 

 

करिब चार महीनादेखि उडान रोकिएको सो एयरलाइन्सले नियमित उडान गर्ने भएको हो । भारतीय कम्पनी कुबेर समूहले खरीद गरेको सौर्यले मंगलबार पहिलो किस्ताबापत ५० लाख तिरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थलाई जरिवानासहित रु चार करोड बक्यौता रकम तिर्नुपर्ने हुन्छ । अबका १० दिनभित्र थप रु ५० लाख र दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको महाप्रबन्धक क्षेत्रीले बताए । 

 

सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले बक्यौता बुझाउँदै सेवा सञ्चालन गरिने जानकारी दिए । अबको एक महीनाभित्र सबै बक्यौता रकम तिरिसक्ने उनले उल्लेख गरे । विमानस्थलले सेवा शुल्क नतिरेको भन्दै गत मङ्सिर ११ गतेदेखि सौर्यका जहाज ग्राउण्डेड गरेको थियो । आर्थिक संकटमा परेको सौर्य केही साताअघि मात्र भारतीय लगानीकर्ता कुबेर समूहले ६३ करोडमा खरीद गरेको थियो । सो समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरीद गरेको जनाएको छ । 

 

हाल दुई ओटा बम्बार्डिएर जहाजमार्फत उडान गर्दै आएको सौर्यले अबका ६ महीनाभित्र तीन ओटा एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिनुभयो । कम्पनीले नयाँ जहाज खरीद गरेसँगै नयाँ गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना रहेको जनाएको छ । 

सौर्य एयरलाइन्स सेवा शुल्क विमानस्थल कार्यालय

विशेष