अर्थ शेयर

नेप्से वर्षको अन्तिम कारोबार दिन ऋणात्मक, नयाँ वर्षमा सुध्रने अपेक्षा

नेप्से वर्षको अन्तिम कारोबार दिन ऋणात्मक, नयाँ वर्षमा सुध्रने अपेक्षा

काठमाडौं । बर्षको अन्तिम कारोबार दिन नेप्से ऋणात्मक बन्दै २०७५ लाई विधाइ गरेको छ । बिहीबार नेप्से परिसूचक ०.५९ अंकले घटेर ११८४.०२ बिन्दुमा झरेको छ ।

आज ‘क’ वर्गको सूचक मापन गर्ने सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंकले बढेर २५३.६४ बिन्दुमा पुगेको छ ।

बिहीबार १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता शेयर ३९ करोड ६४ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् ।

 

अघिल्लो दिनको तुलमा कारोबार रकममा सामान्य गिरावट देखिएको छ । बुधबार ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यस दिन कारोबारमा आएका दश समूह मध्येमा ६ वटा समूहको सूचक सकारात्मक भएका छन् भने ४ वटा समूहको सूचक ओरालो लागेका छन् । जीबन बीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात ९.१३ अंकले बढेको छ ।
निर्जीवन बीमा ५.७२ अंकले बढेको बजारमा विकास बैंक समुह १.२९, बैंकिङ्ग ०.५५, जलविद्युत ०.३८ र लघुवित्त समूहको सूचक ०.०३ अंकले बढेका छन् ।


यता उत्पादन तथा प्रशोधन समूहको सूचक भने सबै भन्दा धेरै अर्थात ३१.८५ अंकले घटेको छ । होटल समुह ११.४८ अंकले झरेको बजारमा वित्त समुह ३.४२ र अन्य समूहको सूचक ३.०३ अंकले ओरालो लागेको छ ।

बिहीबार कुमारी बैंकको सबै भन्दा धेरै शेयर कारोबार भएको छ । बैंकको एक लाख ३९ हजार ६६८ कित्ता शेयर तीन करोड ६३ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । बैंकको साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताव बन्द हुने दिन नजिकिए सँगै बैंकको शेयरमा कारोबार चाप देखिएको हो ।

 

त्यसैगरी एनएमबि बैंकको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । बैंकको ८६ हजार ३४२ कित्ता शेयर तीन करोड ७ लाख रुपैयाँमा कारोबार भएको छ । धेरै शेयर कारोबार हुने अन्य कम्पनीमा एनआईसी एशिया, नेपाल बैंक, प्रभु बैंक, नेको इन्स्योरेन्स, साना किसिान विकास बैंक, माथिल्लो तामाकोशी, बैंक अफ काठमाण्डू र एनसीसी बैंक रहेका छन् ।

यस दिन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ९.९२ प्रतिशतले वृद्धि भयो । इन्स्योरेन्सले निष्काशन गर्न लागेको ३०० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भए पछि इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट ब्रेक लागेको हो । 

त्यसै गरी एनएलजी इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशतले बढेको बजारमा शिखर इन्स्योरेन्सको शेयर मूल्य ३ प्रतिशतले बढेको छ । मितेरी डेभलपमेण्ट बैंक, शाइन रेसुंगा डेभलपमेण्ट बैंक, साना किसान विकास बैंक, अपी पावर कम्पनी, स्वाबलम्बन लघुवित्त, हिमालयन बैंक र कालिका माइक्रोक्रेडिटको शेयर मूल्य २ प्रतिशतले बढेका छन् ।

 

उता घलेम्दि हाइड्रोको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ८।६४ प्रतिशतले घटेको छ । जानकी फाइनान्स, युनिलिभर नेपाल, भार्गव विकास बैंक, युनाईटेड फाइनान्स, सहयोगी विकास बैंक लगायत कम्पनीको शेयर मूल्यमा अधिक गिरावट आएको छ ।

 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विबरण सार्वजनिक गर्ने क्रम सुरु हुनै लाग्दा शेयर बजारमा देखिन थालेको सुधारले निरन्तरता पाउने अपेक्षा लगानीकर्ताले गरिरहेका छन् । लगत्तै चौथो त्रैमास सुरु हुने र सूचीकृत कम्पनीहरुले आफ्नो कमाईलाई आक्रामक बनाउने भएका कारण अहिले कतिपय लगानीकर्ता शेयर किन्ने योजना बनाएर बसिरहेका छन् ।

 

ठुला तथा संस्थागत लगानीकर्ता पनि क्रमिक रुपमा बजार प्रवेश गरिरहेको अवस्थाले अबका दिनमा बजार सुधारको क्रमले निरन्तरता पाउने देखिन्छ ।

शेयर बजार

विशेष