अर्थ शेयर

शेयर बजारले गति लिदा लगानीकर्ताहरु उत्साहित

बजारमा नयाँ लगानीकर्ताहरु भित्रीदा कारोबार रकममा उछाल

शेयर बजारले गति लिदा लगानीकर्ताहरु उत्साहित

काठमाडौं । पछिल्लो समय शेयर बजारले गति लिन थालेको छ । गत चैत महिनाको अन्तिम सातादेखि निरन्तर सुधारउन्मुख देखिएको बजार चालु आर्थिक बर्षको चौथो त्रैमास सुरु भएयतासम्म पनि  निरन्तर उकालो लागेको हो । यसले आम लगानीकर्ताहरु उत्साहित भएका छन् । 

शेयर बजारमा पुराना लगानीकर्ताको सक्रियतासँगै नयाँ लगानीकर्ताहरु समेत भित्रिएकाले कारोबार रकममा समेत बढोत्तरी आएको छ । 


सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै गर्दा कम्पनीहरुले पस्कने नाफा र आगामी बर्ष दिने प्रतिफलको लेखाजेखा गरी लगानीकर्ता शेयर खरिदबिक्रीमा सक्रिय देखिएका छन् ।

 

नयाँ साल सुरु भए यताको पछिल्लो तीन दिनको अवधिमा नै नेप्से सूचक झण्डै ३३ अंकले बढेको छ । सूचक सँगै दैनिक कारोबार रकम समेत बढ्न थालेपछि लगानीकर्ता बजारप्रति थप आशावादी बन्दै गएका छन् । 

पछिल्लो कारोबार दिन नेप्सेमा सामान्य अकंको सुधार भएपनि कारोबार रकममा भने उछाल आएको छ । बुधबार पाँच अंकले मात्र बढेको बजारमा ८२ करोड बढीको कारोबार भएको हो । 

केहि समय अघि सम्म करोबार रकम ३० करोडको हाराहरीमा अल्झिरहेको थियो । 

 


बुधबार नेप्से परिसूचक ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा पुगेको छ । यस दिन १७१ कम्पनीका २८ लाख १ हजार ६१३ कित्ता शेयर किनबेच भएर ८२ करोड १६ लाख रुपैयाँ बराबरमा किनबेच भए । 

यस दिन कारोबारमा आएका १० उपसमुह मिश्रीत देखिएको छ । ४ उपसमूहको सूचकमा सुधार देखिएको छ भने ६ को सुचक नकारात्मक भए ।


बुधबार जीवन बीमाको सूचक सबैभन्दा धेरै ३८.१९ अंकले बढेको छ । यस्तै वाणिज्य बैंक ८.९३, विकास बैंक ४.०९ र होटल १.६३ अंकले सुधार भएका छन् । यता माइक्रोफाइनान्सको सुचक सबैभन्दा धेरै १४.०२ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ९.३८, उत्पादन तथा प्रशोधन ८.४२, हाइड्रोपावर ०.४४, अन्य ०.२७ र फाइनान्स ०.१३ अंकले नकारात्मक बनेका छन् ।

 

बुधबार पनि वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आर्कषण रोकिएको छैन् । यस दिन मात्रै बैकिङ्ग समुहको ४५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसमा पनि एनएमबि बैंकको शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो । बैंकले चालु आर्थिक वर्षमा राम्रो नाफा आर्जन गर्न सक्ने आँकलन गर्दै लगानीकर्ता बैंकको शेयरमा आकर्षित भएका छन्।

 

यस्तै एनआईसि एशिया बैंक, नेपाल बैंक, प्रभु बैंक ४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कुमारी माच्छापुछ्रे, सिद्धार्थ, सिभिल, नेपाल इन्भेष्टमेन्ट र एनसिसि बैंकको पनि धेरै रकमको कारोबार भएको छ ।

बुधबारको कारोबारबाट सिभिल लघुवित्तका शेयरधनीरुले सबै भन्दा धेरै ५.७५ अंकले कमाएका छन् । युनिर्भसल पावरको शेयरमूल्य ५.५६ अंकले बढेको छ ।

 

यस्तै युनाइटेड फाइनान्स, नविल इक्वीटी फण्डको इकाईमूल्य, चौतारी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले सुधार भएको छ । खानीखोला हाइड्रोपावर, कृषि विकास बैंक, सिद्धार्थ बैंक, स्वदेशी लघुवित्त, सिजर्ना फाइनान्सको शेयरधनीले ३ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

 

यता कर्पोरेट डेपलपमेन्ट बैंकको शेयरधनीले सबै भन्दा धेरै ४.०८ प्रतिशतले गुमाएका छन् । यस्तै जनउत्थान सामुदायिक लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, स्वबलम्बन लघुवित्त, रिलायन्स फाइनान्स, आइसिएफसि फाइनान्स, निर्धान उत्थान लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

शेयर बजार

विशेष