अपराध सुरक्षा

हिंसा नछोडे विप्लव समुहलाई सरकारले छोड्दैन : गृहमन्त्री थापा

हिंसा नछोडे विप्लव समुहलाई सरकारले छोड्दैन  : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताएका छन् ।    

 

गृहमन्त्रालयद्वारा आयोजित प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भएको उद्घाटन कार्यक्रममा संचारकर्मीहरुसँग बुरा गर्दै उनले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टाचार, अनियमिततालगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हुदैँ गएको र शान्ति सुरक्षामा सुधार आएको दाबी गरे।  

 

हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समुहसँग वार्ता प्रक्रिया भइरहेको बताउँदै उनले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे । नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा संघ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताए । गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पदाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।   

 

दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, सङ्घीयता, संविधान विरोधी र सुशासन कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताइएको छ । 

विशेष