प्रभुको ‘प्रभु चेतना बचत खाता’ ५.२ प्रतिशतमा ५ करोड सम्म व्यवसायीक कर्जा
काठमाडौं। प्रभु बैंकले एकै पटक ७ शीर्षकमा कर्जा योजना सार्वजनिक गरेको छ । सरकारको सहुलियतपूर्ण व्यवसायीक कर्जा वितरणको योजना अनुसार प्रभु बैंकले ५.२ प्रतिशतमै ५ करोड सम्मको कर्जा योजना सार्वजनिक गरेको हो ।
यसका लागि बैंकले ‘प्रभु चेतना बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बुधबार राजधानीमा पत्रकार संमेलन गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार प्रभु बैंकले पनि सहुलियतपूर्ण कर्जाका लागि ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेको बताए ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकले सहुलियतपूर्ण ऋण प्रवाहका ७ प्रकारका कर्जा योजना सार्वजनिक गरेको छ ।
जस अन्तरगत व्यवसायिक कृषि तथा पशुपंक्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ ।
त्यसैगरी शिक्षित युवा तथा रोजगारीका लागि बैंकले ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । तर यसका लागि कम्तिमा स्नातक तह उतीर्ण गरेको र ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको सिईओ शेरचनले जानकारी दिए ।
त्यस्तै बैंक विदेशबाट फर्किएका युवाहरुका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ । तर ग्रिन कार्ड होल्डरको हकमा भने सो योजना लागू नहुने बैंकले बताएको छ ।
यसका साथै महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलीतहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च, प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना पनि बैंकले सार्वजनिक गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले ती सबै योजना बैंकका सबै शाखाहरुबाट दिने व्यवस्था गरिएको पनि बताएका छन् ।
तर बैंकले १० लाखभन्दा बढिको कर्जाका लागि संस्था र १ करोडभन्दा बढिका लागि कम्पनी दर्ता भएको हुनुपर्ने पनि स्पष्ट पारेको छ ।
प्रभु बैंक लिमिटेडले सबै स्थानीय तहमा बैंक सेवा पुर्याउन ब्रान्चलेस बैंकिङ प्रणाली सुरु गर्ने तयारी पनि गरेको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १५ वटामा मात्रै बैंकिङ सेवा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । प्रमुख कार्यकारी अधिकृत शेरचनले बैंकिङ सेवा संचालनका लागि कठिनाई भईरहेका बाँकि स्थानीय तहमा पनि ब्रान्चलेस बैंकीङ प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए ।