अर्थ

नेपालीका लागि चीनबाट जनै, कोरियाबाट जाँड

नेपालीका लागि चीनबाट जनै, कोरियाबाट जाँड
  • कन्चन न्यौपाने

के तपाईहरुलाई थाहा छ ? नेपालमा कस्ता कस्ता चिज आयात हुन्छन् ? आज हामी तिनै आयातित वस्तुबारे चर्चा गर्दै र्छौं जुन  हामीले सायदै कल्पना गर्न सक्छौं । छिमेकी मुलुक भारत र चीनबाट हुने आयातबारे त हामीले देख्दै र सुन्दै आएका छौं । तर नेपालमा यस्ता मुलुकबाट पनि सामान आयात हुन थालेका छन् जुन मुलुकसँग हाम्रो कुनै पनि हिसाबको साइनो त के हामीले नाम पनि विरलै सुनेका छौं । 

नेपालमा भारत र चीनलगायत बेल्जियम, कोरिया, चिली, तान्जानिया, मदगारस्करजस्ता मुलुकबाट समेत खाद्यवस्तु आयात हुने गर्छन् । इथोपियाबाट सिमीसमेत आयात हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

संसारभरिबाटै नेपालमा आयात हुने वस्तुमा जिरा, धनियाँ, मासु, मकै, दाल अग्रस्थानमा छन् । गएको ११ महिनामा जिरा तथा धनियाँ रसिया, युक्रेन, एन्डोरा, फिनल्यान्ड, म्यानमार र भारतबाट आयात भएको छ । मासु अस्ट्रेलिया, डेनमार्क, फ्रान्स, थाइल्यान्ड, इटाली, कोरिया, भारत र चिनबाट आयात भएको छ । मकै जिम्बावे, ब्राजिल, अर्जेन्टिना, भारत र चीनबाट आयात भएको छ भने दाल युएई, साउदी, टर्की, म्यानमार, अर्जेन्टिना, श्रीलंका, क्यानडा, सिंगापुर, ब्राजिल र अस्ट्रेलियाबाट आयात हुने गरेको पाइएको छ । 

भन्सार विभागले निकालेको चालु आर्थिक वर्षको ११ महिने आयात निर्यात विवरणले देखाएअनुसार विश्वमा त्यस्ता कमै मुलुक छन् जहाँबाट नेपालमा खानेकुरा भित्रिएका छैनन् । कोमोरोस, आयरल्यान्ड र बेलायतको बीचमा पर्ने आइल अफ म्यानसँगै दक्षिण पश्चिम युरोपेली सूक्ष्म मुलुक एन्डोराबाट पनि नेपालमा खानेकुरा भित्रिने गरेको पाइएको छ ।

विभागको चालु आर्थिक वर्षको गएको ११ महिनामा सुँगुरको मासु चीन, अस्ट्रेलिया, डेनमार्क, फ्रान्सलगायतका मुलुकबाट आयात भएको छ । यस अवधीमा ३५ हजार ९ सय ७१ किलो सुँगुरको मासु आयात भएको छ ।

विभिन्न मुलुकबाट मासुदेखि दूध, दहीसम्म, तरकारीदेखि महसम्म, आलुदेखि चियासम्म र जिरा, धनियाँदेखि ल्वाङ, सुकुमेलसम्म हाम्रो भान्सामा पुग्ने गरेकोबारे अधिकांशलाई हेक्का नै छैन । नेपालमा ठूला चौपायादेखि सुँगुर, भेडा, खसीको मासु मात्र होइन घोडाको मासु पनि आयात हुन्छ । हाँस, कुखुराको मासुदेखि मूलासम्म विभिन्न देशबाट भित्रिने गरेको छ । 

हामीले दैनिक रुपमा तरकारीमा प्रयोग गर्ने जिरा, धनियाँजस्ता मसला रुसदेखि दक्षिण अमेरिकी मुलुकहरुबाट आयात हुन्छ । गएको ११ महिनामा झन्डै एक अर्बको जिरा र करिब ४० करोडको धनियाँ नेपाल आएको छ । नेपालमा रुस, युक्रेन र भारतबाट धनियाँ एवं एन्डोरा, फिनल्यान्ड, म्यानमार, भारतलगायत मुलुकबाट जिरा आात भएको छ । केही वर्षअघिसम्म इजिप्ट, सिरियालगायतका मुलुकबाट हुने चनाको आयात अहिले अस्ट्रेलियातिर सरेको छ ।

दक्षिण कोरियाबाट हामी दैनिक पाक्ने आलुको आयात गरिरहेका छौं । गएको ११ महिनामा हामीले भारत, कोरिया र बंगलादेशबाट करिब सवा ३ अर्बको आलु विदेशबाट ल्याएर उपभोग गरेका छौं ।

यसबाहेक हामीले बहरानबाट बिटरुट र मूला आयात गरेका छौं । दक्षिण अमेरिकीमात्र नभएर यसभन्दा पनि कम विकसित मानिने अफ्रिकी मुलुकबाट पनि नेपालमा गेडागुडी र दाल भित्रिएको छ । गएको ११ महिनामा अर्जेन्टिना, ब्राजिललगायतका देक्षिण अ‍ेमरिकी मुलुकसँगै चीन, भारत, बेलायत, क्यानडा, साउदी अरेबिया, यूएई, श्रीलंका, टर्की, म्यानमार, मदगास्कर, केन्या र इथोपियाबाट गेडागुडीसमेत आयात भएको छ ।

यी त भए खाद्यन्न जुन संसारभरि खाइन्छ । तर, हिन्दू धर्मावलम्बीहरुले लगाउने जनैसमेत चीनबाट आयात हुने गरेको छ । नेपालमा बर्षेनि करोडौं रुपैयाँको जनै चीनबाट आयात हुने गरेको छ छ भने नेपाली कोरियाबाट आयतित छ्याङ सेवन गर्ने गरेका छन्।

आयात–निर्यात दूध जनै

विशेष