Technology अर्थ कर्पोरेट

नेपाल राष्ट्र बैंकले दियो खल्तीलाई विद्युतिय भुक्तानी अनुमति

नेपाल राष्ट्र बैंकले दियो खल्तीलाई विद्युतिय भुक्तानी अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय बिल भुक्तानी ‘खल्ती डिजिटल वालेट’ एप्सलाई विलिङ्ग कारोबारको अनुमति दिएको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । 

राष्ट्र बैंकमार्फत डिजिटल भुक्तानीको अनुमति प्राप्त गरेसँगै अब खल्तीले आन्तरिक मनि ट्रान्सफर सेवाका साथै अन्य विविध मोबाईल वित्तीय सेवाहरू समेत उपलब्ध गराउने जनाएको छ ।  

 

सन् २०१७ मा स्थापना भएको यो कम्पनीले ‘खल्ती’ डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । यसलाई नेपाली युवा उद्यमीहरुको समूहले संचालनमा ल्याएका हुन् । आधुनिक युगमा नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउने उद्देश्यले डिजिटल भुक्तानी सेवा ल्याएको कम्पनीका प्रबन्ध नर्देशक मनिष मोदीले बताए । 

 

“डिजिटल भुक्तानी नेपालमा भर्खरै सुरु भएको नयाँ प्रविधि हो । अझै पनि ग्रामिण भेगमा बिजुलीको महसुल तिर्ने जस्ता सामान्य कार्यको लागि सयौँ रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त भुक्तानी सेवा प्रदायकको यस आधिकारिक लाइसेन्सले हामीलाई अझै तीब्र रफ्तारका साथ डिजिटल भुक्तानी सेवालाई देशैभर विस्तार गर्न उत्साह प्रदान गरेको छ । हामी अब देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न ‘डिजिटल नेपाल, समृद्धिको महाअभियान’ भन्ने नाराका साथ भरपूर प्रयास गर्नेछौँ ।” उनले भने, “ यसमार्फत बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने हाम्रो लक्ष्य रहेको छ ।” 

 

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु–आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न समेत सकिन्छ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८,००,००० भन्दा बढि रहेको कम्पनीले बताएको छ । 


 

खल्ती डिजिटल वालेट

विशेष