अपराध सुरक्षा

कलेजमा विद्यार्थीलाई र्यागिङ गर्ने अब प्रहरीको फन्दामा

कलेजमा विद्यार्थीलाई र्यागिङ गर्ने अब प्रहरीको फन्दामा

काठमाडौं। विद्यालय, क्याम्पस लगायतका शैक्षिक वातावरणमा हुन सक्ने सम्भावित र्यागिङ अर्थात अभद्र व्यवहार तथा हैरानीका घटनाहरू रोक्न प्रहरीले नयाँ अभियान सुरु गरेको छ ।

 

प्रहरीले “समुदाय-प्रहरी साझेदारी” अवधारणा अन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित गरी शुक्रबारदेखि शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान (Anti-Ragging/Bullying Campaign) शुरु गरेको हो । प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सिलसिलामा प्रदेश नम्बर २ को जनकपुरमा रहेका महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्समार्फत काठमाडौंको किष्ट कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी राष्ट्रव्यापी रुपमा अभियान शुभारम्भ भएको घोषणा गरेका हुन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले समाजमा अपराध रोकथाम र नियन्त्रण गर्न तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय र प्रहरीको सहकार्य र साझेदारीको विकल्प नरहेको बताए। सुरक्षित वातावरणमा मात्र बालबालिकाको शैक्षिक विकास सम्भव रहेको हुँदा शैक्षिक वातावरणमा हुने कुनै पनि प्रकारका अभद्र व्यवहार तथा हैरानीका सम्भावनालाई रोकथाम गरी बालबालिकाको सिकाई र विकासको आदर्श वातावरण तयार गर्नको लागि यो अभियान राष्ट्रव्यापी रुपमा सञ्चालन गरिएको उनको भनाई छ ।

 

महानिरीक्षक खनालले स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढने प्रतिवद्धता व्यक्त गरे ।

विशेष