अर्थ शेयर

मिर्मिरे लघुवित्तको नाफा ६९.५० प्रतिशतले वृद्धि, कम्पनीको इपिएस भने २६ रुपैयाँले घट्यो

मिर्मिरे लघुवित्तको नाफा ६९.५० प्रतिशतले वृद्धि, कम्पनीको इपिएस भने २६ रुपैयाँले घट्यो

काठमाडौं । मिर्मिरे लघुवित्तको नाफामा ६९.५० प्रतिशत वृद्धि देखिएपनि पूँजी वृद्धिका कारण प्रतिशेयर आम्दानीमा उच्च गिरावट देखिएको छ। गत आवको चैत मसान्तसम्म वार्षिक ६२ रुपैयाँ ८६ पैसा रहेको लघुवित्तको इपिएस चालु आवको यसै अवधिमा २६ रुपैयाँ ३२ पैसाले घटेर ३६ रुपैयाँ ५४ पैसामा झरेको हो।

 

कम्पनीले वित्तीय विवरणमा भने चुक्ता पूँजीमा बिक्री गर्न बाँकी ५० प्रतिशत हकप्रदको कल इन एडभान्ड्स रकमलाई समेत पूँजीकृत गरेपनि इपिएस गणनामा भने बोनस पश्चात कायम चुक्ता पूँजी १२ करोड ८७ लाखलाई आधार लिएर वार्षिक ३७ रुपैयाँ २३ पैसा उल्लेख गरेको छ।

 

लघुवित्तको खुद नाफामा गत आवको चैत मसान्तको तुलनामा एक करोड ४७ लाख ४४ हजार अर्थात ६९.५० प्रतिशत वृद्धि भएको छ । गत चैत मसान्तमा दुई करोड १२ लाख नाफा आर्जन गरेको यस लघुवित्तले चालु आवको यसै अवधिमा तीन करोड ५९ लाख खुद नाफा कमाएको हो।

 

समीक्षा अवधिमा लघुवित्तको पूँजी ४ करोड ५० लाखबाट १३ करोड ११ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने पाँच करोडको जगेडा कोष ७ करोड कायम भएको छ। गत आवको नाफाबाट २४ प्रतिशत बोनस तथा शतप्रतिशत हकप्रद बिक्रीबाट पूँजी वृद्धि गरेको लघुवित्त फेरि ५० प्रतिशत हकप्रद बेच्ने तयारीमा छ।

 

चैत मसान्तसम्ममा लघुवित्तले ६८ करोड निक्षेप संकलन, एक अर्ब ६२ करोड सापटीबाट २ अर्ब ४० करोड कर्जा लगानीबाट ८ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेको छ । निक्षेप संकलन र कर्जा परिचालन बढाएर झण्डै दोब्बर बनाएको लघुवित्तको खुद ब्याज आम्दानी४९ प्रतिशतले वृद्धि भएको हो ।

लघुवित्तको खराब कर्जा अनुपात ०.५७, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ३ पैसा रहेको छ । 
 

मिर्मिरे लघुवित्त

विशेष