अर्थ बैंकिङ

तरलता अभाव हुँदा पनि बैंकले बढाए नाफा

तरलता अभाव हुँदा पनि बैंकले बढाए नाफा

काठमाडौं । लगानीयोग्य रकम (तरलता) को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ। बैंकहरुले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ। सोमबारसम्म सात वाणिज्य बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। तीमध्ये नेपाल बैंकको नाफामात्र घटेको छ। अन्य बाँकी ६ बैंकको नाफा बढेको छ।

 

चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ। पोहोरभन्दा यस वर्षको नौ महिनामा यसले ३४ करोड रुपैयाँले नाफा बढाएको छ। गत वर्ष एभरेस्ट बैंकले सो अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो। नेपाल एसबिआई बैंकले गत वर्षको तुलनामा यस वर्ष २३ करोड रुपैयाँले नाफा बढाएको छ। चालु आर्थिक वर्षको नौ महिनामा एसबिआई बैंकले पनि एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड नाफा कमाएको थियो।

 

सिद्धार्थ बैंकले एक अर्ब ५९ करोड नाफा कमाएको छ। पोहोर उक्त अवधिमा सिद्धार्थ बैंकको नाफा एक अर्ब ३८ करोड  थियो। यसपालिको सिद्धार्थ बैंकको नाफा पोहोरको भन्दा २१ करोड रुपैयाँले बढी हो। सानिमा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको चैत मसान्तसम्ममा यसको नाफा एक अर्ब २० करोड रुपैयाँ थियो। सानिमा बैंकले पोहोरको तुलनामा ३७ करोडले नाफा बढाएको हो।


माछापुच्छे«  बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब २४ करोड नाफा गरेको छ। गत वर्षभन्दा माछापुच्छे«  बैंकले ३९ करोड रुपैयाँले नाफा बढाएको छ। गत वर्षको चैत मसान्तमा माछापुच्छे«  बैंकले ८५ करोड मात्र नाफा गरेको थियो। यसैगरी, सिटिजन्स बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ६ करोड नाफा गरेको छ। गत वर्षको सोही अवधिमा यसले एक अर्ब नाफा गरेको थियो। उक्त बैंकले गत वर्षभन्दा ६ करोडले नाफा बढाएको छ। नेपाल बैंकले भने गत आर्थिक वर्षको नौ महिनाभन्दा यस आवको सोही अवधिमा नाफा घटाएको छ। गत वर्ष चैत मसान्तसम्म दुई अर्ब ५६ करोड नाफा गरेको थियो। तर, चालु आवमा उसको नाफामा गत वर्षभन्दा ३२ करोडले कमी आएको छ। चालु आर्थिक वर्षको नौ महिनामा नेपाल बैंकले दुई अर्ब २४ करोड मात्रै नाफा कमाएको छ।

 

तरलताको अभावले ऋण लगानी गर्ने रकम नभए पनि बैंकको नाफामा त्यसको खासै असर नपरेको बैंकर बताउँछन्। सरकारी ढुकुटीमा रहेको रकम खर्च हुन नसकेकाले तरलता अभाव भएको बैंकर बताउँछन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, गत फागुनसम्ममा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ३१ अर्ब ९४ करोड (स्थानीय खातामा रहेको ५० अर्ब ९६ करोड समेत) नगद मौज्दात थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
 

बैंक नाफा तरलता

विशेष