त्रैमासिक व्याज दिनेगरि राष्ट्र बैंकले मुद्धती निक्षेपमा ३८९ करोड लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको तीन अर्ब ८९ करोड ७१ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे मुद्धती निक्षेप राख्न चाहाने बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरेको हो।
निक्षेप लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर सहित चैत २१ गते बिहीबार अपरान्ह ३ बजे सम्म शिलबन्दी दरभाउपत्र पेश गर्न राष्ट्र बैंकले सूचना प्रकाशन गरेको छ ।
मुद्धती निक्षेपमा त्रैमासिक रुपमा व्याजदर भुक्तानी हुने गरी बैंकले शिलबन्दी बोलपत्र खुलाएको हो।
राष्ट्र बैंकले “क” वर्गका वाणिज्य बैंकहरुमा ३ अर्ब १६ करोड ७५ लाख, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ५३ करोड ४८ रुपैयाँ र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १९ करोड ४८ लाख रुपैयाँ मुद्धती निक्षेप लगानी गर्ने भएको छ।
बैंक तथा वित्त संस्थाहरुले रकम लिनका लागि आवेदन पेश गर्ने विभिन्न मापदण्ड समेत तोकेको छ। बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त रहेको छ ।
त्यसैगरी, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तिय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनु पर्ने छ । तोकिएको शर्त भन्दा फरक हुनेगरी दरभाउ पेश गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंक