अर्थ शेयर

साताको अन्तिम दिन शेयर बजारमा ब्रेक, झिनो अंककले नेप्से घट्दा कारोबारमा धक्का

साताको अन्तिम दिन शेयर बजारमा ब्रेक, झिनो अंककले नेप्से घट्दा कारोबारमा धक्का

काठमाडौं । साताको अन्तिम दिन बिहिबार शेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ०.६४ अंकले घटेर ११६५.२० बिन्दुमा झरेको हो। 

 

आज परिसूचक नेप्से घट्दा यसको प्रभाव कारोबार रकममा समेत देखिएको छ ।  मंगलबार र बुधबार आधा अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार ४२ करोड ३४ लाख रुपैयाँको मात्र कारोबार भएको छ । 

यस दिन १७२ कम्पनीका १७ लाख ६९ हजार ७ सय कित्ता शेयर ४२ करोड ३४ लाख रुपैयाँमा कारोबार भयो । बुधबार ५४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको थियो । 

 

बिहीबार कारोबार आएका १० उपसमुहहरु मिश्रित देखिएका छन् । चार उपसमूहको सूचकमा सुधार आएको छ भने ६ वटा नकारात्मक भएका छन् । उत्पादन तथा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै ६.०५ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा १.०५, वाणिज्य बैंक ०.९५ र फाइनान्स समुहको सूचक ०.९५ अंकले बढेका छन् । 

 

बिहीबार होटल समुहको सूचक सबैभन्दा धेरै २३.४८ अंकले घटेको छ । यस्तै जीवन बीमा २०.०८, माइक्रोफाइनान्स ८.७७, विकास बैंक ४.५९, हाइड्रोपावर ०.८३ र अन्य ०.३४ अंकले ओरालो लागेका छन् ।

गत दुई दिनमा जस्तै बिहीबार पनि कारोबारमा आएका उप सूचकमध्ये बैंकिङ्ग समूहको उच्च शेयर कारोबार भएको छ। यस दिन एनआइसी एशिया बैंकको शेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । बैंकको ४ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

 

कुशल व्यवस्थापनबाट आक्रमक व्यवसाय विस्तार गर्दै आएको एनआईसी एशियाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा देखिएको बढ्दो प्रगतिका कारण बैंकको शेयर मूल्यमा थप आकर्षण बढेको हो । बैंकले मुलुकभर २८१ शखा कार्यालयहरु स्थापना गरि निक्षेप संकलन र कर्जा परिचालनमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई पनि पछाडि पार्न थालेको छ भने बैंकको कमाई पनि सोही अनुरुप बढ्दै आएको छ। तेस्रो त्रैमासमा बैंकले दुई अर्ब माथि नाफा आर्जन गर्ने अड्कलबाजी बजारमा चल्न थालेको छ।

 

एक कार्यक्रममा नबिल बैंकको सीइओ अनिलकेशरी शाहले एनआईसी एशिया बैंकलाई आफ्नो प्रतिस्पर्धि बैंक रहेको उल्लेख गरेपछि लगानीकर्ताहरु हाई रिक्स हाइ गेनको नीति अनुरुप जोखिम मोलेर भएपनि एनआइसी एशियाको शेयरमा आँखा चिम्लेर लगानी बढाउन थालेका छन्।

 

बैंकको शेयरमूल्य चैत १४ गते बिहीबार देखि नै बढ्न थालेको हो। चैत १४ गते प्रतिकित्ता ३९८ शेयरमूल्य रहेको एनआईसी एशियाको चैत २१ गते आइपुग्दा प्रतिकित्ता ४४० रुपैयाँमा कारोबार बन्द भएको छ। यसबीचमा प्रतिकित्ता ४२ रुपैयाँ शेयरमूल्य बढ्नुले बैंकमा देखिएको आकर्षणलाई स्पष्ट पार्दछ।

 

यस्तै एनसीसी बैंकको २ करोड ५० लाख रुपैयाँ, सिभिल बैंकको २ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भयो । नेपाल बैंकको एक करोड ८१ लाख, माछापुच्छ्रे बैंकको एक करोड ५८ लाख, जनता बैंकको एक करोड ४९ लाख, एनएमबि बैंकको एक करोड २६ लाख, र एभरेष्ट बैंकको एक करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी शिवम् सिमेन्ट्स र अपर तामाकोशीको शेयरपनि एक करोड रुपैयाँ बराबरको कारोबार भयो ।

 

बिहीबारको बजारबाट सिन्धु विकास बैंको शेयरधनीहरुले सबैभन्दा धेरै ५.१९ प्रतिशतले कमाएका छन् भने युनिभर्सल पावरको शेयरमूल्यमा नेगेटिभ सर्किट कायमै छ । युनिर्भसल पावरको चैत १० गते कारोबार खुलेदेखि नै शेयरमूल्य निरन्तर घट्दै आइरहेको छ । कम्पनीको शेयरमूल्य ९.२४ प्रतिशतले घटेर १०८ रुपैयाँमा झरेको छ ।

 
यस्तै भार्गव विकास बैंकको ५.१०, सुर्योदय लघुवित्तको ४.५३, जानकी फाइनान्सको शेयरमूल्य ३.५७ प्रतिशले सुधार भएको हो । एनआईबिएल समृद्धि फण्डको इकाईधनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, राधी विद्युत, गुडविल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीहरुले आजको कारोबारवाट कमाएका छन् ।

 

उता राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमूल्य ३.९१ प्रतिशतले ओरालो लागेको छ । कालिका लघुवित्त, कन्काई विकास बैंक, र नेपाल हाइड्रोको शेयरधनीले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

यस्तै किसान माइक्रोफाइनान्स, खानीखोला हाइड्रोपावर, नागबेली लघुवित्त, दिब्येश्वरी हाइड्रोपावर, आईएमइ जनरल इन्स्योरेन्सको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ।

शेयर बजार

विशेष