अर्थ शेयर

रसुवागढी र सान्जेल जलविद्युत आयोजनाको आइपिओ बैशाख ६ गतेबाट खुल्ने

न्यूनतम ५० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने

रसुवागढी र सान्जेल जलविद्युत आयोजनाको आइपिओ बैशाख ६ गतेबाट खुल्ने

काठमाडौं। रसुवगढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले वैशाख ६ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएका छन्। रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता र सान्जेनले ४९ लाख ८२ हजार कित्ता प्राथमिक शेयर जारी गर्ने भएका हुन्।

 

बिक्री बन्द छिटोमा वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा जेठ ५ गतेसम्म हुने छ। 
प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने छन्। 

 

सर्वसाधारण शेयरधनीहरुले दुबै आयोजनामा न्यनतम ५० कित्ताको लागि आवेदन दिन सक्नेछन्। त्यस्तै रसुवागढी जलविद्युतको आइपिओमा अधिकतम ५००० कित्ता र सान्जेन जलविद्युतको आइपिओमा अधिकतम २००० कित्तासम्मको लागि आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ। 

 

दुबै आयोजनाले प्राथमिक शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार मध्यम किसिमको वित्तीय अवस्था जनाउने ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ। 

रसुवागढी जलविद्युत आयोजना 
कम्पनीले जारी पूँजी ६ अर्ब ८४ करोड रुपैयाँको १५ प्रतिशत अर्थात एक अर्ब २ करोड रुपैयाँको शेयर सर्वसाधारणका लागि छुट्टाएको छ। सर्वसाधारणतर्फको शेयरको ४ प्रतिशत अर्थात ४ लाख १० हजार कित्ता कर्मचारीको लागि छुट्टाएको छ। ५ प्रतिशत अर्थात ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषलाई बाँडफाँड गरिसकेको छ।

कम्पनीले रसुवा जिल्लामा १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको २०७६ साल फागुनमा विद्युत उत्पादन सुरु गर्ने जनाएको छ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ८ वर्ष रहेको छ। आयोजनाले पुर्ण रुपमा विद्युत उत्पादन सुरु गरेर नाफा आर्जन गर्न थालेसँगै आर्थिक वर्ष २०७९र८० मा प्रति शेयर आम्दानी २५ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। 

 

सान्जेन जलविद्युत आयोजना 
सान्जेन जलविद्युत आयोजनाले रसुवा जिल्लामा १४।८ मेगावाट क्षमताको सान्जेन माथिल्लो र ४२।५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको निर्माण सुरु भएसँगै माथिल्लो सान्जेनमा तीन प्रतिशतका दरले ५ पटक मूल्य बृद्धि भएको छ। त्यस्तै तल्लो सान्जेनको तीन प्रतिशतका दरले १० पटक मूल्य बृद्धि हुँदा लागत बढ्ने अनुमान गरिएको छ। 

दुबै आयोजनाको प्रमुख संस्थापक शेयरधनीहरुमा चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण र रसुवा जिल्लाका स्थानिय रहेका छन्। संस्थापक तर्फको शेयर पूँजी ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर पूँजी ४९ प्रतिशत हुने छ। निर्माणाधिन सान्जेनले आर्थिक वर्ष २०७९र८० मा प्रतिशेयर आम्दानी २६ रुपैयाँ पुग्ने अनुमान गरेको छ।  

दुबै आयोजनाले यस अगाडि ऋणदाता संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि शेयर निष्काशन गरिसकेको छ। रसुवा जिल्लाका वासिन्दाले सर्वसाधारणका लागि शेयर निष्काशन गरिसके पछि मात्रै प्रभावित क्षेत्रका लागि शेयर निष्काशन गर्ने अनुरोध गरेका थिए। कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेपछि मात्रै प्रभावित क्षेत्रका लागि शेयर निष्काशन गर्ने भएको छ। 

रसुवगढी जलविद्युत आयोजना, सान्जेन जलविद्युत आयोजना

विशेष