अर्थ

बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा किलोकै २०० बढ्यो

बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा किलोकै २०० बढ्यो

काठमाडौं : यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन् । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ ।’

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए । ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो ।’

अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको भाउ आकासिएको छ । महिनादिनअघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा कालिमाटी बजारमा शनिबार एक सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यही गोलभेडाको दाम काठमाडौंका साना बजार र किराना पसलमा एक सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्छ । त्यस्तै, स्थानीय काउली कालिमाटी बजारमै ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ । एक महिनाअघि यसको मूल्य ५५ रुपैयाँ थियो । भेन्टा, मटरकोसा, हरियो फर्सी, साग, निउरो, ब्रोकाउली, धनियाँलगायतका ताजा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ । 

खसीको मासुमा किलोकै २०० वृद्धि

खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले भारतबाट नियमित खसी ल्याउन नपाउँदा उपत्यकामा मागअनुसार आपूर्ति गर्न नसकिएको बताए । ‘भन्सार नाकाबाट भारतीय खसी ल्याउन सकिएको छैन । उपत्यकाको मागलाई धान्न व्यवसायीहरू गाउँगाउँ गएर खसी ल्याउँदैछन् । त्यसैले केही लागत बढ्न गएको देखिन्छ,’ उनले भने । जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको उनले बताए । तर, एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

मूल्यवृद्धि

विशेष