उमेर ८०, सय बढी गाई–बाख्रा पालन
धनकुटा । वरिपरि जंगल र भीरले घेरिएको ठूलो ढुंगा । नजिकै जस्ताले छाएको छाप्रो । त्यहीँ बस्छन् ८० वर्ष नाघेका बूढाबूढी । उनीहरूका साथी छन् करिब एक सय गाई र बाख्रा । सहर जानु धेरै परको कुरा, दुई–तीन घण्टामा पुग्न सकिने नजिकको बस्ती नटेकेको वर्षौं भयो । ८४ वर्षका भवानीप्रसाद लिम्बू र उनकी श्रीमती ८६ वर्षीया छविमाया तेह्रथुमको छथर गाउँपालिका ३ लुकुवा नजिकको जंगलमा बस्दै आएको साढे तीन दशक भयो । सामान्य एकसरो मैलो लुगा लगाएका उनीहरूको शरीर कुप्रिसकेको छ । आँखा कमजोर भएको छ, कान कम सुन्छन् । काममा भने दुवै सक्रिय छन् । गाईबाख्राका साथमा उनीहरूको दिनचर्या जंगलको सेरोफेरोमै बित्छ ।
केही वर्ष पहिलेसम्म उनीहरू ढुंगाको ओढारमा थिए । अहिले आफैंले बनाएको छाप्रामा ओत लागेका छन् । छाप्राको तल्लो भागमा गाईगोठ र माथिल्लो भागमा बाख्राको खोर छ । खोरसँगै काठको फलेक ओछयाइएको खुला स्थानमा बूढाबूढी सुत्छन् । गाईबाख्राको मल थुप्रिएर अग्लो ढिस्को बनेको छ । ओढारभित्रको चुलोमा खाना पाक्छ । छाप्रोभन्दा माथिल्लो भागबाट सुक्खाका कारण निरन्तर ढुंगा झरिरहन्छन् । त्यसबाट जोगिँदै उनीहरूले जीवनको उत्तरार्द्ध बिताइरहेका छन् ।
लिम्बू दम्पतीले नजिकको बजार तथा बस्ती नटेकेको करिब तीन दशक भएको छ । ‘उहिल्यै तेह्रथुमको शुक्रबारे बजार पुगेको थिएँ, त्यसपछि फेरि जाने फुर्सद मिलेन’ उनले भने । उनीहरू गाईबाख्रा पाल्ने ठाउँ खोज्दै जाँदा २०३९ वैशाखदेखि उक्त स्थानमा बस्दै आएका हुन् । धनकुटा र तेह्रथुमको सीमावर्ती भागमा रहेको तमोर नदी तरेर मात्र फलामेटार बस्ती पुग्न सकिन्छ । अन्य मानिसका लागि समेत नदी वारपार गर्ने माध्यम डुंगा छ । हिउँदमा नदीमा डुंगा चल्छ । वर्षात्मा वारपार गर्न बन्द हुन्छ । वारिको तेह्रथुमको लुकुवा गाउँ पुग्न झन्डै दुई घण्टा उकालो चढ्नुपर्छ । भवानी जंगलमा गाईबाख्रा चराउनेदेखि नदीबाट पानी बोकेर ल्याउने गर्छन् । दुई घण्टा समय खर्चिएर खानेपानी तमोरबाट ओसार्नुपर्छ ।
भवानीप्रसाद गोठालोबाट साँझ घर आइपुग्दा पत्नी छविमाया ढुंगाको ओढारमा खाना पकाएर कुर्ने गर्छिन् । उनीहरू बसेका ठाउँमा नौला मान्छे पुग्दैनन् । नदीपारि रहेका छोरा कुलबहादुर र बुहारी मनमाया भने बाबुआमा भेट्न जाने गरेको उनीहरूले बताए । छोरा, बुहारी र नातिनातिना भए पनि जंगलमै बस्न मन लाग्ने दुवै बताउँछन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
धनकुटा