दुर्लभ बन्दै पञ्चेबाजा (फोटो फिचर र भिडियोसहित)
यो बिहेको मौसम हो । गाउँघरमा कतै पञ्चेबाजाको धुुतुरुधु आवाज सुनिदैन् । पञ्चेबाजाको सूरमा नाच्ने जाँगर कसैलाई छैन् । गोरखाको पालुङटारमा एउटा सार्वजनिक समारोहमा बजाइएको यो पञ्चेबाजा अपवाद हो । अघिल्लो पुस्ताका २,४ जनाले आजसम्म बजाउनुको धर्म धानेका छन् ।
नयाँपुस्ता बाजा बजाउनु त परै जाओस् , नाम सुन्न पनि मान्दैन । उनीहरुको मोह पश्चिमा बाजामा छ । सामाजिक सञ्जालले नयाँपुस्ताको रहरमा अलग रंग भरिदिएको छ । बल, बैंस भएकाहरु खाडी लाहुरे भएका छन् । नेपाली समुदायको पुस्तौनी पेशा भएकाले बिँडो धान्नेको अभावमा यो परम्परागत बाजा संकटमा पर्दै गएको छ ।
२,४ ठाउँमा अरु समुदायले समूह बनाएर बाजा बजाउने गरेको समाचार आउने गरेपनि रहरको पानी फोका कति बेला फुट्छ भन्न सकिन्न । शहरमा व्यावसायिक प्रयोजनले बनाइएका ठाउँ ठाउँमा पञ्चेबाजा केन्द्र त छन तर तिनीहरुमा मौलिकता छैन् । व्यावसायिकता हावी छ ।
पहिले जस्तो मागी बिहे गर्ने चलन निकै कम भएकाले पञ्चेबाजाको प्रयोगमा कमी आएको हो भन्ने मत राख्ने पनि उत्तिक्कै छन् । अचेल बिहेमा पञ्चेबाजा बजाउने चलनमा कमी आएका कारण पनि इच्छा हुँदाहुँदै नेपाली समुदायका युवाहरु रोजगारीको अन्य विकल्प रोज्न बाध्य बनेको एकथरि छन् । पञ्चेबाजा बजाएर अघि लागे शुभ हुने विश्वास गरिन्छ ।
बिहे, ब्रतबन्ध, पूजाआजाजस्ता सामाजिक काममा भन्दा ठूलाबडाको स्वागत सत्कारमा यस्ता बाजाको उपयोगिता बढ्दै गएको देखिन्छ ।
पञ्चेबाजा अन्तर्गत सनाई, ट्याम्को, झुर्मा, ढोलक, नरसिंह, कर्नल र विकुललगायत बाजा पर्दछन् । यो नेपाली अर्गानिक बाजा हो । शुभकार्यमा बजाइने यो बाजा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको हो ।
यो व्यथा एकाध ठाउँ नभएरै देशैभरिको हो । नेपाली संस्कृतिमा शुभ कार्यका लागि साईत हेर्ने चलन छ । उक्त साईतलाई शुभ बनाउनका लागि पञ्चेबाजाका धून बजाउने गरिन्छ । पञ्चेबाजा परम्परागत रूपमा नेपाली समुदायले बजाउँदै आएको भएपनि केही समयअघि अन्य समुदायले समेत बजाउने गर्दथे । तर पछिल्लो समय गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रतिको आकर्षण घटेको छ ।
पहिले एउटा समूहमा १० भन्दा बढी बाजा बजाउनेको संलग्नता हुने गरेको भएपनि अहिले भने यो समूह खुम्चिदै जान थालेको छ ।