अपराध सुरक्षा

बम विष्फोटको अन्तरकथा

बम विष्फोटको अन्तरकथा

आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे खुट्टामा गोली लागेपछि पाँच घण्टा पर अस्पताल लैजाँदै गर्दा अत्यधिक रक्तश्रावको कारण मारिएको आवेगमा पत्रकार कृष्णसेन मारिएको दिन बन्द रोज्दा विप्लव समूहका थप कार्यकर्ता प्राविधिक गल्तीले बर्बाद भएका छन् । केही महिनादेखिको घरभाडा नतिरेका अखिल कार्यकर्ता प्रज्वल शाहीले जेठभरिमा भाडा तिर्ने, कोठा पनि छाड्ने बताएका थिए । बिहान घरबेटीसंग यस्तो सल्लाहपछि दिनभर कतै निस्किएनन् । बर, एकैछिनमा केही साथी जम्मा भए । विद्यार्थीको कोठामा प्राय ढोका लाग्ने नै भयो । तर, त्यही कोठामा दिउँसो टोलै थर्थराउने गरी बम  बिष्फोट भयो । जेठभरिमा कोठा छाड्छु भन्ने प्रज्वल आफैंले बनाएको बम लागेर कोठमाभित्रै संसार त्यागे ।


ओम अस्पताल अगाडि सैलुन निक्कै चलेको थियो । आम्दानीले आफूमात्र हैन, साथीहरु पनि पालिने अवस्था थियो । तर पार्टीले भन्यो, ‘अब पेशा पनि रणनीतिक तवरले चलाउनुपर्यो ।’ यही निर्देशन पाएर जीवनकुमार ठाकुर ६ महिनादेखि सुकेधाराको भित्री सडक, ढलाने पुुुलनजिकैको नयाँ टहरामा सरे । सैलुन राखे । ग्राहक उति धेरै आउँदैन थिए । तर, उनी दिनैभर व्यस्त हुने । अघिल्लै दिन साँझ चुनिखेलका सुरेन्द्र महर्जनसहित आठ, दशजना मान्छे पुगे । बाहिर सैलुन खुल्लै थियो । तर, उनीहरु भित्र व्यस्त थिए । कपाल काटने हजामबारे कसैले केही शंका वा चासो राख्ने कुरा पनि भएन । तर, ती ठाकुर सशस्त्र द्वन्द्वकालदेखि कै माओवादी, विभाजनमा वैद्यतिर गएर फेरि विप्लवमा लागेका । त्यहाँ पनि दिउँसो बनाउँदा बनाउँदैको बम पड्कियो । सैलुनअगाडि अण्डाझैं टाउको फुटेर गिदी छिरल्लिएका ठाकुरले त्यहीँ प्राण त्यागे । 


बुढानिलकण्ठसंगै जोडिएको चुनिखेलमा दीपेन्द्र विश्वकर्माको डेरा थियो । तर उनी कहिलेकाहीँ मात्र पुग्थे । पत्नी र दुई बच्चा त्यहीँ बस्छन् । अघिल्लो दिन साँझ कोठाबाट निस्कनुअघि चोकमा एकजनाले सोधे, के काम गर्नुहुन्छ ? उनले भने, पाटनमा एनजीओ चलाउँछु । तर, भोलिपल्टै दिउँसो सुकेधारामा विष्फोट भएको बममा परेर घाइते भए । उपचारको क्रममा अत्यन्त रक्तश्राव हुँदा उनले पनि प्राण त्यागे । दीपेन्द्रसंगै अघिल्लो साँझदेखि सुकेधारास्थित ठाकुरको सैलुनसंगै कोठमा बसेका हाँडीगाउँका सुरेन्द्र महर्जनका दुवै खुट्टा बमले खाएको छ । अर्का घाइते हरि खड्काको एउटा खुट्टा  काम नै नलाग्ने अवस्थामा छ । दीपेन्द्र, सुरेन्द्र र हरि यी तीनैजनाको डेरा चुनिखेलमा छ । उनीहरु ०७० सालदेखि त्यहाँ बसेका हुन् । 


घट्टेकुलोस्थित प्रज्वलको कोठामा बनाइएको बम अनामनगरबाट घट्टेकुलो चोक आसपास लगेर साँझको समय विष्फोट गराउने योजना भएको प्रहरीले पत्ता लगाएको छ । अनुमानअनृुसार उनीहरुले सशस्त्रका पूर्वआईजीपी सिंहबहादुर श्रेष्ठको घर आसपास लक्षित गर्दै बम विष्फोट गर्ने योजना बनाएका थिए । तर टाईम मिलाउन नजान्दा बनाएकै ठाउँमा पड्कियो । सुकेधारामा पनि भएको यस्तै हो । घाइतेहरुले प्रहरीलाई बताएअनुसार सुकेधारास्थित यातायात कार्यालय र फलफूल बजारको बीचमा रहेको पार्किङस्थल खालि भएपछि बम राख्ने योजना थियो । सुकेधारामा बम बनाउन जान्ने उनै ठाकुर थिए । 
बुधबारको जनआस्था पत्रिकाबाट साभार ।
         

बम  बिष्फोट संसार त्यागे

विशेष