अर्थ बैंकिङ

अझै घटेन बैंकको ब्याजदर

अझै घटेन बैंकको ब्याजदर

काठमाडौं । चर्को ब्याजका कारण उद्योग–व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै निजी क्षेत्रले कर्जाको ब्याजदर घटाउन आन्दोलन नै गर्यो । व्यवसायीले ब्याजदर घटाउन सरकारलाई अल्टिमेटमसमेत दिए । सोहीकारण अर्थ मन्त्रालयले ब्याजदरलगायत समस्या समाधान गर्न अध्ययन कमिटी बनाएर त्यसको सुझाब कार्यान्वयनका लागि सम्बन्धित निकायलाई  निर्देशन पनि दियो । तर, आर्थिक वर्ष सकिएको ९ महिना बितिसक्दा पनि ब्याजदर घट्न सकेन । 

 

बैंकहरूले तेस्रो त्रैमासको वित्तीय विवरण धमाधम प्रकाशन गरिरहेका छन् । वित्तीय विवरणले बैंकहरूको आधारदर (बेसरेट) केही बिन्दु प्रतिशतले घटेको देखाउँछ । तर, अपेक्षित रूपमा बेसरेट घट्न नसकेको व्यवसायी बताउँछन् । जसका कारण ब्याजदरसमेत घटेको छैन । अहिलेसम्म कर्जाको ब्याजदर घटेको कुनै सूचना प्राप्त नभएको नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् । ‘ब्याज बढ्दा म्यासेज आउँछ, सजिलै थाहाँ पाइन्छ,’ उनले भने, ‘तर, अहिले बेसरेट केही घटेको होला, ब्याज घट्ने अनुमान पनि गरिएको थियो, तर अहिलेसम्म ब्याजदर घटेको म्यासेज आएको छैन ।’ महासंघको बैंकिङ समितिका उपसभापति गोपाल खनालले पनि अहिलेसम्म ब्याजदर नघटेको जानकारी दिए । 


बेसरेट कति घट्यो? 
वाणिज्य बैंकहरूको औसत आधारदर ०७४ फागुनको १०.३६ प्रतिशतको तुलनामा ०७५ फागुनमा ९.६५ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यसले आधारदर ०.७१ बिन्दु प्रतिशतले घटेको देखाउँछ । तर, यथार्थमा भने बेसरेट घटेको देखिँदैन । केन्द्रीय बैंकले गत पुसमा आधारदर गणना विधिमा परिमार्जन गरी सम्पत्तिको प्रतिफलबराबरको ०.७५ प्रतिशत भारलाई हटाएको थियो । यसर्थ, बैंकको अधारदर कम्तीमा ०.७५ बिन्दु प्रतिशतले घट्नुपर्ने थियो । अझै पनि तरलता चाप रहेको तथा शाखा विस्तारलगायतले बैंकको लागत बढाएका कारण बेसरेट घट्न नसकेको केही बैंकर बताउँछन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

बैंक ब्याजदर

विशेष