अर्थ

बजेट भाषणलगत्तै आकासियो दैनिक उभोग्य वस्तुको मूल्य

बजेट भाषणलगत्तै आकासियो दैनिक उभोग्य वस्तुको मूल्य

काठमाडौं । बजेटको प्रभावले दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेलगत्तै दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको हो ।

ढुवानी भाडा बढेको तथा ढुवानीमा भ्याट बढाएको भन्दै व्यापारीले बजेट कार्यान्वयनमा आउनु एक महिनाअगावै दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले दैनिक उपभोग्य वस्तुमा कुनै कर नबढाउँदा पनि ढुवानीलाई सेवा क्षेत्र मान्दै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयले बजारमा ४० देखि ५० रुपैयाँसम्म दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको बताए ।

अत्यावश्यक खाद्य वस्तुमा भ्याट र अन्तःशुल्क वृद्धिले स्वदेशी उद्योग पलायन हुने, कृषकले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने तेहोरो मार पर्ने काम स्वयं सरकारले गरेको महर्जनको भनाइ छ । उनले यसलाई सरकारले तत्काल पुनर्विचार गर्न जरुरी रहेको बताए ।

अध्यक्ष महर्जनले प्रस्तुत बजेटले आमउपभोक्ताको जीवनयापन झनै कष्टपूर्ण भएको बताए । आमउपभोक्ताको हितमा व्यवसायमैत्री वातावरण बनाउन र करको दायरा बढाई राजस्व संकलनको क्षेत्र फराकिलो बनाउन बजेट परिमार्जन गर्न आवश्यक देखिएको महर्जनको भनाइ छ । समृद्धि नेपाल, सुखी नेपालीको नारा सफल पार्न बजेट परिमार्जन गर्न आवश्यक देखिएको उनले बताए ।

दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको बेहोरा अनुरोध गर्दै आमउपभोक्ताका तर्फबाट प्रधानमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र पठाइएको उनले बताए ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले ठूला व्यापारीले नै मूल्य बढाएर खुद्रा व्यापारीलाई बिक्री गरेका हुँदा खुद्रा व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाउन बाध्य भएको बताए । ठूला व्यापारीले ढुवानीको बहाना बनाउँदै बजेट प्रस्तुतलगत्तै दैनिक उपभोग्य वस्तुमा १० देखि ५० रुपैयाँसम्म मूल्य बढाएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

ढुवानीको बहानामा ६ महिनापहिले स्टक राखेका वस्तुमा समेत प्रतिकेजी १० देखि ३० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले बताए ।  यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

मूल्य बजेट खाद्यवस्तु

विशेष