अपराध सुरक्षा

कक्षा कोठामै यस्तो यातना

कक्षा कोठामै यस्तो यातना

गोरखा । गोरखा नगरपालिका–११ को सेन्ट जोसेफ बोर्डिङ स्कुलमा एक बालकलाई यातना दिएको दाबी गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । किताब नल्याएको भन्दै कक्षा ५ का १० वर्षीय श्रीयन्स श्रेष्ठलाई विज्ञान शिक्षिका मनीषा मगरले सोमबार कुटपिट गरेको पीडित पक्षको आरोप छ । ‘छोराको ढाडभरि नीलडाम छ,’ श्रेष्ठकी आमा सिर्जनाले भनिन्, ‘१२ बजेतिर मिसले कुट्नुभएको रहेछ । साँझ घरमा कपडा फेर्न लाग्दा नीलडाम देखेर छक्क परें ।’

 

सामान्य गल्तीमा यातना दिइएकाले शिक्षिकालाई कारबाही हुनुपर्ने उनले बताइन् । ‘गल्ती गर्‍यो भन्दैमा बच्चालाई यसरी पिट्न कहाँ पाइन्छ?’ उनले भनिन् । आफूलाई ढाड र हातमा कुटिएको श्रीयन्सले बताए । ‘किताब छ कि छैन सोध्नुभयो, तल च्यापिएको रहेछ, पछि देखाएँ,’ उनले भने, ‘त्यही कारण स्केलले धेरैपटक पिट्नुभयो, सरी भन्दा पनि चाहिँदैन तेरो सरी भन्दै पिटि राख्नुभयो ।’

 

घटनाबारे साँझ मात्र थाहा पाएको सहायक प्रिन्सिपल फादर सुनीलले बताए । ‘बच्चालाई मैले पनि साँझ भेटें, दाग बसेको हिसाबले पिट्नचाहिँ पिट्नुभएकै रहेछ,’ सुनीलले भने । घटना प्रहरीकोमा पुगिसकेकाले छलफलकै क्रममा रहेको उनले बताए । निवेदन हेरेर कारबाही प्रक्रिया अघि बढाउने एसपी भोला रावलले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

यातना गोरखा नगरपालिका जोसेफ बोर्डिङ स्कुल

विशेष