अर्थ

बजेटले समाजवादी लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको विश्वास

बजेटले समाजवादी लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको विश्वास

सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात गरेको समाजवादी लक्ष्य पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । 

प्रतिनिधिसभा बिहिबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री डा.युवराज खतिवडाले संविधान प्रदत्त मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको बताउँदै संघीयतामा वित्तीय कार्यान्वयन जारी रहेकाले केही विषयमा कमजोरी देखिनु स्वाभाविक भएको बताउनुभयो ।  

राष्ट्रिय पुनःनिर्माण, राष्ट्रिय गौरवका आयोजना, विगतमा बहुवर्षीय ठेक्कामा बन्दोबस्त भएका आयोजनामा आठ खर्ब बराबरको बजेट संघको अनिवार्य दायित्व भएको भन्दै उहाँले ती  दायित्व बजेटमा आत्मसात् गरिएको बताउनुभयो ।  

सबै चालु खर्च ‘चालु खर्च’ होइन भन्दै उहाँले ती पूँजीगत खर्च नै भएको स्पष्ट पार्नुभयो । सामाजिक सुरक्षा भत्ताका विषयमा अनावश्यक बहस गरिएको भन्दै अर्थमन्त्रीले नेपालीको औसत आयुलाई ध्यानमा राखेर ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरिएको बताउनुभयो । 

आगामी आर्थिक वर्षमा तोकिएको ८.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य व्यावहारिक भएको दावी गर्दै उहाँले संघ, प्रदेश र स्थानीय तहले गर्ने खर्चले अपेक्षित लक्ष्य हासिल हुने बताउनुभयो । ठूला भौतिक पूर्वाधार विकासको गति बढ्दा त्यसले श्रम बजारमा समेत प्रभाव पार्ने उहाँको भनाइ थियो ।

उहाँले नेपाल भ्रमण वर्षको कार्यक्रम अगाडि बढाउँदा सेवाको निर्यातबाट व्यापार घाटा घटाउन सकिने अर्थमन्त्रीको जोड थियो । 

आगामी आर्थिक बर्षको बजेटले धेरैलाई खुशी पारेको र कमैलाई मात्रै बेखुशी बनाएको बनाएको भन्दै उहाँले अर्को आर्थिक वर्षको बजेटमा सबैलाई खुशी तुल्याउने गरी बजेट आउने विश्वास दिलाउनुभयो ।

बजेट प्रतिनिधिसभा

विशेष