अर्थ

विश्व बैंक भन्छ– आर्थिक वृद्धिदर ठीक, सरकारी खर्चको प्रवृत्ति बेठीक 

विश्व बैंक भन्छ– आर्थिक वृद्धिदर ठीक, सरकारी खर्चको प्रवृत्ति बेठीक 

विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । यद्यपि सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने विश्व बैंकको ठहर छ । 

विश्व बैंकले विहिबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो । 

नेपालको अर्थतन्त्र दू्रत गतिमा अघि बढिरहेको प्रतिवेदनमा उल्लेख  छ । विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिन सके नेपालको आर्थिक विकासले फड्को मार्ने देखिएको बैंकका दक्षिण एशियाका वरिष्ठ अर्थशास्त्री हान्स टिम्मेरले जानकारी दिनुभयो ।

बैंकले पर्यटकको आगमनमा वृद्धि, विद्युत आपूर्तिमा सहज तथा निजी क्षेत्रको लगानीमा भएको विस्तारका कारण व्यापार घाटा बढ्दै जाँदा पनि नेपालको आर्थिक वृद्धिदरमा कमी हुन आउने सम्भावना नदेखिएको  स्पष्ट पारेको छ । प्रतिवेदनमा तीनवटै तहमा बलियो सरकार बन्नु नेपालको आर्थिक क्षेत्रको विकासका लागि अवसर भएको पनि उल्लेख गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको व्यापार घाटा बढदै गएपनि चिन्तित हुनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले आर्थिक गतिविधि बढाउँदा हुन गएको व्यापार घाटाबाट देशलाई घाटा नभई लाभ नै हुने  स्पष्ट पार्नु भयो । अर्थमन्त्री खतिवडाले सीमित स्रोत भित्र रहेर सरकारले असीमित दायित्व पूरा गर्दै वित्तिय अनुशासनलाई पूर्ण पालना गरेको दावी गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले सरकारले आन्तरिक उत्पादनलाई जोड दिएको उल्लेख गर्दै त्यसबाट केही वर्ष भित्र व्यापार घाटा अन्त्य हुने दावी गर्नुभयो । निरन्तर रुपमा भइरहेको आर्थिक वृद्धिदरलाई कायम राख्न सरकारले विशेष ध्यान दिने अर्थमन्त्री खतिवडाको भनाई छ । 

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा जोड दिन सरकारले कृषि क्षेत्रमा आधारित उद्योग र विद्युत उत्पादनको कामलाई उच्च प्राथमिकता दिएको  स्पष्ट पार्नु भयो ।

विश्व बैंक अर्थमन्त्री खतिवडा

विशेष