राधेको पक्षमा उभियो तरुण दल
नेपाल तरुण दलले आफ्ना धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण (राधे) भण्डारीलाई बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको भन्दै रिहा गर्न माग गरेको छ ।
तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोधका कारण मात्र पक्राउ गरिएको आरोप लगाउनुभयो ।
भण्डारीविरुद्ध किटानी जाहेरी दिएको भनिएका घाइते जनक मगरले आफूले घटना भएको स्थानमा देख्दै नदेखेको र चिन्दै नचिनेको व्यक्ति विरुद्ध जबरजस्त रुपमा प्रहरीले किटानी जाहेरी लेखेर हस्ताक्षर गर्न लगाएको दाबी गर्नुभयो ।
कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले नै घटनामा भण्डारीको संलग्नता नरहेको भन्दाभन्दै पक्राउ गर्नु राजनीतिक प्रतिशोध मात्र भएको बताउनुभयो ।
यही जेठ २२ गते धादिङको रोराङ गाउँपालिकामा स्थानीय बासिन्दाबीच भएको विवादमा भण्डारी पनि संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । भण्डारी यसअघि गुण्डा नाईके चरीलाई गोली हान्ने अभियोगमा केही समय जेल बसेर निस्किएका व्यक्ति हुन् ।