व्यापार अर्थ समाज

१५ सयको लठ्ठी, ५ हजारको टोपी

१५ सयको लठ्ठी, ५ हजारको टोपी

एउटा खुकुरीको दाम कति पर्ला ? तपाईंलाई लाग्ला– राम्रो खालको भए २,४ हजार पर्ला कि ! यो सोच्नु भयो भने तपाईं पुरै भ्रममा हुनुहुन्छ । नेपाली श्रम र सीपको सुगन्ध लिएर ७० जिल्लाका उद्यमी यतिबेला काठमाडौंमा छन् । 

नेपाली कालिगढले बनाएका चीजबस्तुको मूल्य सुन्नुभयो भने तपाईं तीन छक्क पर्नुहुन्छ । बाग्लुङ बुर्तिबाङका मनबहादुर सिर्पालीले बनाएको खुकुरीको मूल्य ११ लाख ११ हजार १ सय ११ रुपियाँ छ । त्यतिमात्र हैन, तेर्हथुममा बनेको ढाका टोपीको दाम ५ हजारसम्म छ । ढाकाको सारी २० हजार पर्छ । 

घरेलु मेलाको अर्को आकर्षण छ– खोटाङको लठ्ठी । पुलिसले बोक्ने लठ्ठी घँगारु नामको बनस्पतिबाट बनाइएको हुन्छ । मेलामा रहेको लठ्ठी पनि त्यही बनस्पतिको हो । हलेसी महादेवको फोटो अंकित छ । एउटा लठ्ठीको मूल्य १५ सय छ । यो चानचुनको लठ्ठी देखिदैन । कडा मेहनत छ । घँगारुमा काँडा हुने भएपनि त्यो काँडा मारेर चिल्लो बनाइएको छ ।

कर्णालीको मासी चामल, जिम्मु,गेडागुडी, घोडेमर्चादेखि हिमालको कागुनोलगायत कृषि फसल छन् । अचम्म त के छ भने  ख्याती कमाएको ठाउँबाट भन्दा फरक स्थानबाट अनपेक्षित उत्पादन आएका छन् । 

भोजपुरको खुकुरीले ख्याती पाएपनि बाग्लुङ, सल्यानमा उत्पादित हतियारको बोलवाला छ । भोजपुरको खुकुरी सहभागी नै छैन । रुम्जाटारको राडीपाखीको खोजखबर छैन् । गलैंचामा त्यत्रो नाम कमाएको नेपाली उत्पादनको जम्मा एउटा स्टल छ । इलामको चिया उत्पादनलाई संखुवासभाले पछ्याएको दृश्य देखिन्छ । उद्यममा महिला सहभागिता उल्लेख्य छ ।

राजनीतिमा जस्तै प्रदेश नम्बर दुईको मिथिला आर्टको प्रतिनिधित्व शून्य छ । बरु सप्तरीको विशुद्ध पेडाको ख्याती कमाएको बैजनाथको पेडा बजार खोज्दै राजधानी पसेको देखियो । बैजनाथका सहोदर नाति गुणस्तरको व्याख्या गर्दै शहर आएका छन् । 

दार्चुला, संखुवासभा, रोल्पाका उद्यमी अल्लोबाट बनेका पोसाक लिएर उपस्थित छन् । उनीहरुले तान राखेर उत्पादनको प्रत्यक्ष दृश्य देखाइरहेका छन् । काठमाडौंमा उत्पादित घरेलु सामग्री उपलब्धता उत्तिक्कै छ । नजिकै भएर पनि भक्तपुरको जुजु धौ, टोखाको चाकु , खोकनाको तेलको खोजखबर छैन् । 


स्थानीय उत्पादनको प्रवद्र्धन हुनुपर्छ भन्नेमा दुइमत छैन् । तर यहाँका उत्पादन आकर्षक नहुने रोग छ । तिनीहरुको गुणस्तर नाप्ने संयन्त्र छैन् । जहाँ जुन नामको दिएपनि त्यसको अर्गानिक गुणस्तरबारे सबै पक्ष मौन छन् । 

खुकुरी टोखाको चाकु

विशेष