अपराध सुरक्षा

कसरी चल्यो भोजपुरमा गोली ? 

कसरी चल्यो भोजपुरमा गोली ? 

स्थान : भोजपुर बसपार्कको पानधारे होटेल
समय : बिहान
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाका जिल्ला ईन्चार्ज निरकुमार राई र सादा पोशाकका प्रहरी जवान सन्जिव राई होटेलको एउटा टेबलमा सँगै चिया खाजा खाइरहेका थिए । दुवै राई थरका थिए । प्रत्यक्षदर्शीका अनुसार दुवै दाइभाइ नाता लगाएर संवाद गरिरहेका थिए ।  

सोही क्रममा विप्लव जिल्ला इन्चार्ज राईले प्रहरी जवान सन्जिवलाई भने–‘तिमीहरूले विप्लवका कार्यकर्तालाई त देखि सहँदैनोै नि, किन ?’
सन्जिवले आफूहरुले त्यस्तो नगरेको भन्दै टालटुले जवाफ दिए । उनले व्यावसायिक भन्दा घरगाउँले कुरा गर्दै गए । उनलाई अरु अरु कुरामा अल्मल्याएर पक्राउ गर्ने रणनीतिमा थिए । 

निरकुमारले प्रहरी आफूलाई पक्राउ गर्न जाल बुनिरहेको सुइँको पाए । त्यसपछि शौचालय जाने भन्दै उठे । उनको त्यतैबाट भाग्ने सुर थियो । सञ्जिवले केही बेर बस्न आग्रह गरे । निरकुमार उठ्ेर हिँड्न खोज्ने, सन्जिव अल्मल्याउने क्रम बढ्यो । निरकुमार जबर्जस्ती होटलबाट निस्किएर बाहिर सडकमा आए । सञ्जिव पनि सडकमा आएर उनलाई रोक्न खोजे ।

अन्त्यमा राईले पेस्तोल निकालेर प्रहरी जवानको छातीमा प्रहार गरे । उनलाई पक्राउ गर्नका लागि प्रहरी आइसकेको थियो । प्रहरी जवान राईलाई गोली प्रहार गरेलगत्तै भाग्दाभाग्दै निरकुमारको खुट्टामा प्रहरीले गोली हान्यो । अधिक रक्तश्रावका कारण दुवैको घटनास्थलमै मृत्यु भयो । घाइते अर्का एक प्रहरीको भोजपुर अस्पतालमा उपचार भइरहेको छ । 

मृतक प्रहरी जवान सन्जिव राईको शव पोष्टमार्टमका लागि धरान लगिँदैछ । अर्का मृतक निरकुमार राईको भने परिवारलाई खबर गरी सल्लाहपछि के गर्ने ठेगान गरिने स्थानीय प्रशासनले जनाएको छ । 
 

भोजपुर

विशेष