अपराध सुरक्षा

कान्छी ल्याउन र बिमा कुम्ल्याउन 'कन्ट्र्याक्ट किलर' प्रयोग गरी श्रीमतीको हत्या

कान्छी ल्याउन र बिमा कुम्ल्याउन 'कन्ट्र्याक्ट किलर' प्रयोग गरी श्रीमतीको हत्या

पोखरा । पोखरा महानगरपालिका–१५ का रमेश नेपालीले कान्छी ल्याउने योजनाअनुरूप २७ वर्षीया पत्नी लक्ष्मी परियारको हत्या गराएको रहस्य सार्वजनिक भएको छन्। उनले प्रेमिका अनु परियारको उक्साहटमा भारतीय कन्ट्र्याक्ट किलर प्रयोग गरी पत्नी हत्या गर्न लगाएको खुलासा भएको हो।

घटना गत असार १ गतेको हो। रमेशले पत्नी हराएको भन्दै खोजीका लागि असार २ गते कास्की प्रहरीमा निवेदन दिएका थिए। पेसाले मोबाइल बिक्रेता उनी निवेदन दिएयता दुई बालक छोरासहित दिनहुँ जिप्रका पुग्ने गर्थे। पत्नी चाँडो पत्ता लगाइदिन प्रहरी अधिकृतदेखि सिपाहीसम्मलाई अनुरोध गर्थे।

उनले पत्नी हराएको भन्दै स्थानीय एफएम, टेलिभिजनमार्फत सूचना पनि प्रशारित गराए। युट्युबरहरूलाई बोलाएर लक्ष्मी हराएको सूचना पाएलगत्तै प्रहरी भने उनको खोजीमा खटिएको थियो। लगातार खोजीमा खट्दा पनि प्रहरीले लक्ष्मीको सुइँको पाउन सकेको थिएन। परिवार तथा स्थानीयसँग सोधपुछ गर्दा पनि लक्ष्मीको सुइँको नपाएकाले प्रहरी हैरान थियो। तर असार २५ गते घटनामा अचानक नयाँ ट्विस्ट आयो।

प्रहरीले लक्ष्मीको हत्या आशंकामा निवेदक रमेशलाई नै पक्राउ गर्‍यो। शंकाको मुख्य कारण थियो लक्ष्मीको अन्य कोहीसँग सम्बन्ध नहुनु र उनले प्रयोग गर्दै आएको मोबाइल रमेशको मोबाइल पसलमै हुनु। चार महिनाअघि मात्र लक्ष्मीका नाममा एक करोड रुपैयाँको बिमा गरिएकाले प्रहरीको शंका रमेशतिर सोझिएको थियो।

पत्नीको खोजी गरिदिन भन्दै दिनहुँ प्रहरी कार्यालय धाउने रमेश आफैंलाई प्रहरीले शंका गरेर पक्राउ गरेपछि आत्तिए। उनी प्रहरीको अनुसन्धानका क्रममा तुरुन्तै हायलकायल भए र हत्या आफ्नै योजनामा भएको स्वीकारे। उनको बयानका आधारमा कास्की प्रहरीले मृतक लक्ष्मीको कंकाल पोखरा–२२ पुम्दीभुम्दीस्थित कर्कले जंगलबाट बरामद गर्‍यो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

हत्या

विशेष