३४ लाखको चेकसहित १६ जुवाडे पक्राउ

भक्तपुर । जुवातास खेलिरहेको अवस्थामा भक्तपुरका दुई ठाउँबाट १६ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–६ स्थित हरिबहादुर खड्काको घरबाट गए राति १० जना र सल्लाघारीबाट ६ जुवाडे पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
जुवाखालबाट प्रहरीले नगद एक लाख ३३ हजार ३५० र ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।