रिकन्डिसन व्यवसायीद्वारा मेघा घिमिरेलाई आर्थिक सहयोग
काठमाडौं : सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ ।
‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढीकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई संघले सहयोग रकम हस्तान्तरण गरेको हो ।
संघमा आवद्ध १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विएन पाठकले रिकिन्डसन व्यवसाय राज्यको एक महत्वपूर्ण अंग भएर पनि उपेक्षामा पारिएको गुनासो व्यक्त गरे । साथै उनले देशभर रहेका रिकन्डिसन व्यवसायी एक ढिक्का भई संगठित रुपमा आफ्नो आवाज सरोकारवाला निकाय समक्ष राख्नु पर्ने धारणा व्यक्त गरे ।
अन्तरक्रियामा वोल्ने अधिकांश व्यवसायीले हाल यो व्यवसायमा देखिएका समस्या र तिनको उचित समाधानका लागि स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले खेल्नुपर्ने भूमिकालगायत विविध विषयका बारेमा आ–आफ्नो जिज्ञाशा व्यक्त गरेका थिए ।
उनीहरूको जिज्ञासा जायज भएको र समाधानका लागि आफूले सक्दो पहल थाल्ने कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिले बताएका थिए ।
संघका अध्यक्ष पाठकले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका-७ का अध्यक्ष शुद्धकुमार डंगोल र विशेष अथिति यातायात व्यवस्था कार्यालय गुर्जुधाराका शाखा अधिकृत रामचन्द्र दाहाल, प्रहरी नायव उपरीक्षकद्वय राजेन्द्र पोखरेल र प्रदीपकुमार भट्टराई, संघका महासचिव दिनेश महत लगायत स्थानीय निकायका अन्य पदाधिकारी र संघका सल्लाहकार रहेका थिए ।
कार्यक्रमको अन्त्यमा दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहयोग स्वरुप ९२ हजार रुयैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
आर्थिक सहयोग