अपराध सुरक्षा

‘शाही चोर’को नालीबेली

‘शाही चोर’को नालीबेली

के तपाईंले भारतको शाही चोर बन्टीको बारेमा सुन्नु भएको छ ? भारतका ठूला ठूला शहरमा फिल्मी नायक झैं ऊ आफ्नै कारमा चढेर चोरी गर्न निस्कन्छ, कुनै एउटा घरमा पस्दछ, भित्रबाट मालताल ल्याएर आफ्नो कारमा भर्छ र सफलतापूर्वक त्यहाँबाट रफ्फूचक्कर हुन्छ । उसको यस्तो जादूमय चोरीको विश्वभर चर्चा हुने गरेको छ । उसका केही चोरीका उदाहरण यस्ता छन् । 

एक समय ऊ दिल्लीको न्यू फ्रेन्ड्स मार्केटको एउटा कोठीमा चोरी गरिरहेको थियो । उसले आफ्नो  कार कोठीकै हातामा पार्किङ गरेको थियो । घरभित्रबाट मालसामान ल्याएर ऊ आफैं धमाधम लोड गरिरहेको थियो । रातको समयमा भित्रबाट माल ल्याउँदै धमाधम गाडीको डिकीमा राखेको देखेपछि पुलिसलाई शंका लागेछ । एक प्रहरी ईन्सपेक्टर र हवल्दार नजिकै आएर समय सोधे । बन्टीले धक नमानी समय बतायो । अनि पुलिसले सोध्यो– ‘सर, यति राती कता जाँदै हुनुहुन्छ ?’ बन्टीको सटिक उत्तर थियो– ‘ड्याडीलाई छोड्न एयरर्पोर्ट जाँदैछु ।’

पुलिसले फेरि भन्यो– ‘दुई गिलास चिसो पानी खान पाइएला ?’ ‘अवश्य’ यसो भन्दै बन्टी ठमठमी भित्र पस्यो र भान्सा कोठाबाट दुई बोतल कोल्ड ड्रिङ्स ल्याएर पुलिसलाई  दियो । घरभरि झलमल्ल बत्ती बलिरहेको थियो । शंका गर्ने कुनै ठाउँ थिएन । बन्टी पुलिसकै अगाडि सामान ओसारिरहेको थियो । चिसो पिइसकेपछि बन्टीलाई धन्यवाद दिँदै पुलिस निस्किए । ऊ पनि आफ्नो काम तमाम् गरेर त्यहाँबाट टाप कस्यो । यो दृश्यले बन्टी मामुली नभएर शाही चोर रहेको प्रमाणित हुन्छ । उसको चोरी शैली अरु अरु पनि विचित्र खालका छन् । 

उसले यस्तै रोचक चोरी ग्रेटर कैलाशमा पनि गरेको थियो । बन्टी त्यहाँ पनि कार चढेर राती २ बजेतिर त्यहाँ पुग्यो । कार सडकमै छाडेर एउटा घरको कम्पाउण्डमा प्रवेश गर्यो । घरका सबै तलाका मानिस सुतिरहेका थिए । बत्ती कतै बलेको थिएन । उसले भूइँतलाको एउटा झ्यालको माध्यमबाट घरको मूलढोका खोल्यो र भित्र पस्यो । त्यसपछि भूइँतलाका सबै बत्ती झलमल्ल पारेर बाल्यो । त्यसपछि चोरेर लैजान योग्य सामान निरीक्षण गर्यो । फ्रिजबाट झिकेर यौटा चिसो पियो । अनि सडकमा राखेको गाडी घरको हातामा ल्याएर रोक्यो । त्यसपछि के थियो ? एकपछि अर्को गर्दै सामान लोड गर्न थाल्यो । यत्तिकैमा गस्तीमा रहेका दुई पुलिस आइपुगे । 

बन्टीको बानी के रहेछ भने जुन घरमा चोरी गर्ने हो, चोरी गर्नुअघि त्यस घरको नम्बर र अपार्टमेन्टको मालिकको नाम ‘नेमप्लेट’ हेरेर कण्ठ गर्दो रहेछ । म्युजिक सिस्टमको ठूलो स्पीकर रहेको गाडी लिएर मध्यरातमा यी गतिविधि गरेको देखेपछि पुलिस तुरुन्त त्यहाँ पुगेर सोध्यो– ‘तपाईं को हुनुहुन्छ ?’ उसले अपार्टमेन्ट बाहिर टाँसिएको नेमप्लेटको हवाला दिँदै आफू उसको छोरा रहेको बतायो । यसपछि  पुलिसलाई नै प्रतिप्रश्न गर्दै भन्यो– ‘तपाईंहरु किन घर मालिकको छोरालाई नै चोरको दृष्टिले हेर्दै हुनुहुन्छ ?’

पुलिसले सफाई दिँदै भन्यो– ‘हैन सर हाम्रो त ड्यूटी नै यस्तो हो ।’ बन्टीले पुलिसलाई भन्यो– ‘त्यसो भए आफ्नो ड्यूटी राम्रोसंग गर्नुहोला ।’ पुलिसको शंका हराएन । उनीहरुले पानी पिउने इच्छा भएको बताए । यसपटक पुलिस पनि बन्टीसंगै घरभित्र पस्यो । ‘यो आधारातमा स्पीकर लिएर कता जाँदै हुनुहुन्छ ?’ उसले तुरुन्त रेडिमेड जवाफ दियो– ‘हाम्रो पाटी चलिरहेको छ । स्पीकर बिग्रियो, त्यसैले स्पीकर लिन हतार हतार आएर फेरि जाँदैछु । ‘माफ गर्नुस सर, तपाईंलाई डिस्टर्व गरेकोमा’ यसो भन्दै पुलिस विदा भयो ।

बन्टी त्यस घरबाट २५ हजार नगद, टीभी सेट, म्युजिक सिस्टम लिएर फरार भयो । दिल्लीको विकासपुरीमा जन्मिएको बन्टीले यसै तरीकाका सयौं चोरी गरिसकेको छ । पुलिसलाई भ्रम थियो कि यति ठूलो स्तरमा चोरी गर्ने कुनै समूह हुनुपर्छ । तर यसैगरी चोरी गर्न लागेको बेला पुलिसले  पक्रेको छ । यसपछि भने उसले चोरीबाट विश्राम लिएको छ । 
 

शाही चोर बन्टी

विशेष