९ हजार कर्मचारी माग, साँढे ४ लाखको आवेदन, १४ करोड राजश्व उठ्यो
काठमाडौँ । लोकसेवा आयोगले गत जेठ १५ गते स्थानीय तहको पदपूर्ति गर्न माग गरेको विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाको आवेदन परेको छ । जुन मागभन्दा ४८ गुणा बढी हो । ५१५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि लोकसेवाले विज्ञापन आह्वान गरेको थियो ।
मंगलबार अन्तिम फाराम भर्ने समय सिमासम्म यति संख्यामा आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । खुलातर्फ चार लाख ३४ हजार ७६४ जनाले आवेदन दिएका छन् । एक लाख तीन हजार ५६७ महिला, ४३ हजार ३२६ जनजाति, २४ हजार ९०मधेशी, तीन हजार ९१ दलित र १ सय ४६ अपांगता भएकाले आवदेन दिएका छन् । त्यस्तै पिछडिएका ११६ ले आवेदन दिएका छन् ।
आयोगले विज्ञापन आवेदनबाट १४ करोड ४ लाख ११ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । लोक सेवा आयोगको विज्ञापन दोब्बर दस्तुरसहित भर्ने मंगलबार अन्तिम दिन थियो । आयोगको विज्ञापनलाई लिएर मधेशकेन्द्रित राजनीतिक दलले तीव्र विरोध गरेका थिए भने विभिन्न संघसंस्थाले पनि विरोध जनाएका थिए । संघीय संसद्को राज्य व्यवस्था समितिले विज्ञापन रोक्न निर्देशन नै दिएको थियो । विज्ञापनविरुद्ध सर्बोच्च अदालतमा समेत मुद्धा परेको थियो ।