अपराध सुरक्षा

कसरी मारिए जोन अफ केनेडी ?   

कसरी मारिए जोन अफ केनेडी ?   

आफ्ना असंख्य योगदानबाट सारा संसारलाई कृतार्थ तुल्याउने महापुरुषहरु अदृश्य शक्तिको हातबाट अकालमै मारिएका घट्ना विश्व इतिहासमा प्रशस्तै भेटिन्छ । नेपालकै सन्दर्भमा थुप्रै यस्ता हत्या प्रकरण छन, जसको खोजी समेत अब दुस्साहसमा परिणत हुन थालेको छ । इतिहासमा उल्लेख भएका भण्डारखाल, कोतपर्वमा सतहमा एउटा अनुहार देखिए पनि त्यसको रहस्य अझै समयकै गर्तमा छ । 

नेपाली जनताले देवता मानेको राजसंस्थाको पुरै परिवार नासियो । यसको स्वामित्व लिने त परै जाओस् , सत्यको नजिक पुग्ने सामथ्र्य कसैले गरेको छैन् । घट्ना प्रकरणको तथ्य पत्ता लगाउन बनाइएका आयोग छानविन समिति फगतः औपचारिकतामा टुंगिएका छन् । त्यस्तै एमाले महासचिव मदन भण्डारीको संदिग्ध दुर्घटना प्रकरण पनि त्यत्तिक्कै सेलाएको छ । उनैको पार्टी पटक पटक सत्तारोहण भएपनि यो विषयले प्राथमिकता पाउन छोडेको छ ।  महात्मा गान्धी, अब्राहम लिंकन, मार्टिन लुथर किंग, जोनएफ केनेडी यी महापुरुष जसलाई उनीहरुको योगदानको बद्ला कृतघ्न संसारले अकाल मृत्यु दियो । मृत्युसंग साक्षात्कारको अन्तिम अवस्थामा पनि मानव कल्याणमै लागिरहने यस्ता महापुरुषमध्ये केनेडी पनि एक हुन् । 

सन् १९६० को अमेरिकी राष्ट्रपति चुनावमा रिचर्ड निक्सनलाई थोरै मतको अन्तरले पराजित गरेर राष्ट्रपति बनेका केनेडी सर्वाधिक लोकप्रिय अमेरिकी राष्ट्रपति मानिन्छन् । रंगभेद विरुद्धका नीतिका कारण अन्तर्राष्ट्रिय जगतमा उनको नाम बढी सम्मानसाथ लिइन्छ । यसो भएपनि बत्तीमुनि अँध्यारो भने झैं टेक्सासका जनता उनलाई फुटेको आँखाले पनि रुचाउँदैनथे । केनेडीका जुनसुकै प्रगतिशील एवं सुधारात्मक कामको विरोध गर्दथे । आफ्नो राज्यमा केनेडीका नीति सफल हुन दिने पक्षमा उनीहरु थिएनन् । उनी राष्ट्रपति बनिसकेपछि केनेडीले टेक्सासका हठधर्मी नागरिकलाई आफ्ना नीतिबारे सम्झाउन टेक्सास राज्यस्थित डलास नगरको भ्रमण गर्ने निधो गरे । 

डलासका मानिस टेक्सास राज्यका अन्य नगरका मानिसभन्दा अधिक शान्तिप्रिय हुन्छन् । उनीहरु केनेडीको नीतिभन्दा उनको हंसमुख व्यक्तित्वबाट प्रभावित थिए । जब केनेडीको विमान डलासको हवाई अड्डामा उत्रियो, त्यसबेला हजारौं डलासबासी उनको स्वागतमा तैनाथ बसेका थिए । केनेडीले बडो आत्मीय भावमा सबैलाई अभिवादन गरे । कारभित्रबाट अभिवादन फर्काउन असजिलो भएकाले उनले बुलेट प्रुफ कारको शीशा तल झारेर स्थानीयको अभिवादन ग्रहण गर्न थाले । ‘डलासका जनताको प्रेम देखेर अब तपाईं भन्न सक्नुहुन्न कि यिनीहरु तपाईंलाई चाहँदैनन् ।’ डलासका गभर्नरकी पत्नीले हाँस्दै भनिन् । केनेडीले मुस्कुराउँदै जवाफ फर्काए– ‘हो, उनीहरुको यो भीडबाटै स्पष्ट भइसकेको छ कि उनीहरु मलाई कति चाहन्छन्.....’ तर जवाफ पूरा हुन पाएन । त्यसैबेला एउटा भवनको छैठौं तलादेखि आएको गोलीबाट उनी तत्कालै धराशायी भएर दायाँतर्फ पत्नी जेकीको छेउमा ढल्न पुगे । जेकी रुँदै भन्न थालिन्– ‘आखिर टेक्सासका मानिसले मेरो पतिलाई मारेरै छोडे ।’

यो सामान्य हत्या थिएन । जसले संसारलाई एक पटक आणविक युद्धको मुखमा पुर्याइदियो भने अमेरिकालाई गृहयुद्धको चपेटामा । अमेरिकी सुरक्षा विभाग पेन्टागन केनेडीको हत्या समाचार पाउने वित्तिक्कै जल, थल र वायु सेनालाई आणविक वा कुनै पनि प्रकारको युद्धका लागि तयार रहन आदेश दियो । अमेरिकाका हरेक पसल, कारखाना र कार्यालय तुरुन्त बन्द गरिए । करोडौं मानिस सडकमा उत्रिएर डाँको छोड्दै रोइरहेका थिए । संयुक्त राष्ट्रसंघको जनरल एसेम्बलीका सदस्य राष्ट्रहरुले एक मिनेट मौन धारण गरेर शोक मनाए । सबै देशका प्रतिनिधिहरुको मानसपटलमा एउटै प्रश्न नाचिरहेको थियो– ‘अब विश्व शान्तिको रक्षा कसले गर्छ ?’

डलासको प्रहरीले हत्याको एक घण्टापछि नै केनेडीका संदिग्ध हत्यारालाई गिरफ्तार गर्यो । त्यहाँका हजारौं युवाको सहयोगमा पुलिसले यो सफलता पाएको थियो । डार्वे ओसवाल्ड नाम गरेको यो हत्याराले गिरफ्तार हुनुअघि टिप्पिट नामक एक पुलिस अधिकारीको हत्या गरेको थियो । उसलाई एकैपटक दुई हत्याको अभियोग लगाइयो । तर उसले आफ्नो अपराध स्वीकारेन । यद्यपि प्रहरीसंग यथेष्ट प्रमाण थियो । त्यसैले कडा पहरामा उसलाई जेल लाने तयारी गरियो । जब उसलाई हतियार सुसज्जित आर्मड कारमा बसाउन खोजिँदै थियो, एक्कासी ज्याक रुवि नामको एक हतियारधारीले भीडबाट पेस्तोल ताकेर डार्वेको हत्या गरे । टेलिभिजन क्यामेरा प्रत्यक्ष प्रसारणमा रहेको यो दृश्य विश्वका करोडौंले प्रत्यक्ष हेरे । ५२ वर्षीय अविवाहित ज्याक रुविले जेलमा पत्रकारहरुसंग भन्यो– ‘टेलिभिजनमा विधवा जेकी, उनका टुहुरा छोराछोरी देखेर मेरो मन करुणाले पग्लियो । त्यसैले मैले उत्तेजनालाई नियन्त्रणमा राख्न सकिन् । त्यो हत्यारा मारेर मैले केनेडी हत्याको बद्ला लिएको हुँ । यसमा मलाई कुनै पछुतो छैन् ।’

रुविले ओसवाल्डको हत्या किन गर्यो ? यस सम्बन्धमा धेरैले थुप्रै अनुमान लगाए । कसैले भने– ‘उसले सस्तो लोकप्रियता कमाउन ओसवाल्डको हत्या गरेको हो ।’  सस्तो लोकप्रियताका लागि उ कुकृत्यमा उत्रिएको टिप्पणी गर्ने पनि देखिए । कसैको अनुमान थियो– उ हत्या गरिएका पुलिसको साथी थियो, त्यसैले उसले त्यसको बद्ला लिन यो हदसम्म गरेको थियो । अझ तात्कालिन रुसले त यो सम्म भन्न बाँकी राखेन कि केनेडीको वास्तविक हत्यारा ओसवाल्ड नभई सीआईएकै कुनै एजेन्ट हो र उसलाई बचाउनका लागि रुविमार्फत ओसवाल्डको हत्या गराइएको हो । 

अर्कातिर ओसवाल्डको हत्याभन्दा पहिले धेरैजसो अमेरिकी केनेडीको हत्या कम्युनिष्टहरुले ओसवाल्डमार्फत गराएको ठान्थे । तर ओसवाल्डको हत्यापछि उनीहरुलाई लाग्यो, ओसवाल्डले केही त्यस्ता अमेरिकीको निर्देशनमा केनेडीको हत्या गरेको हो, जसको हित केनेडीको मृत्युमै थियो । पछि उनीहरुले ओसवाल्डको हत्या यो उद्देश्यले गरिदिए ता कि उसले पुलिसको दबावमा षडयन्त्रको पर्दाफास नगरिदेओस् । केनेडीपछि उपराष्ट्रपति जोनसन अमेरिकी राष्ट्रपति बने । पदमा आसीन भएलगत्तै आयोग बनाए । त्यो आयोगले छेउ, टुप्पो पत्ता लगाउन सकेन । आजसम्म पनि प्रश्न अनुत्तरित छ– आखिर केनेडीको हत्या कसले, के का लागि गर्यो ?
 

अमेरिकी राष्ट्रपति राष्ट्रपति जोन अफ केनेडी

विशेष