पूर्व आईजीपी ठकुरीद्वारा अदालतमा आत्मसमर्पण
नेपाल प्रहरीका पूर्वप्रमुख रमेश चन्द ठकुरीले अदालत समक्ष आत्मसमर्पण गरेका छन् । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर ठकुरीले विहिवार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरे ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सुडानको डार्फरमा जाने संगठनका सदस्यको वन्दोवस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको अदालतते प्रमाणित गरेको थियो ।
तात्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दीपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो ।
पूर्वप्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो भने ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार, थापा र थाङ्देनलाई एक वर्ष कैद र ४० हजार जरिवाना सजाय फैसला भएको थियो ।
त्यसअघि २४ जेठ ०६८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ करोड ८१ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।