अपराध सुरक्षा

त्रिवि सेवा आयोग परीक्षामा अनियमितता, अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टचार मुद्दा

त्रिवि सेवा आयोग परीक्षामा अनियमितता, अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

त्रिवि सेवा आयोगले प्रशासनिक तथा प्र्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षामा प्राप्तांक नम्बर फेरबदल गरी कर्मचारीका आफन्तलाई उत्तीर्ण गरेको अनुसन्धानमा खुल्न आएपछि उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्र्रवक्ता प्र्रदीप कोइरालाले जानकारी दिए ।
अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, सह–प्राध्यापक ताराप्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री गरी १० जनाले पदीय मर्यादाअनुरुप कर्तव्य पूरा नगरी उक्त पदहरूको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । २८ फागुन २०७३ मा प्रकाशित विज्ञापन नं १८/२०७३/०७४ अन्तर्गत विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदका लागि विज्ञापन गरी परीक्षा भएको थियो ।

शाखा अधिकृत पदका लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये ६ जनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । एक परीक्षार्थीको प्रथम पत्रमा १७ र तृतीय पत्रमा १६ अंक थपेर उसलाई उत्तीर्ण गराइएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ४ अंक थपिएकोे, परीक्षार्थीको तृतीय पत्रमा १४ अंक थपेर मेरिटमा ल्याएको, अर्को परीक्षार्थीको द्वितीय पत्रमा ६ अंक थपेर मेरिटमा ल्याएको गरी चार जनाको उत्तरपुस्तिकामा अंक थपेर उनीहरूलाई उत्तीर्ण गराएको पाइएको थियो । एकजना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाई अनुत्तीर्ण गराएको र अर्को एकजना परीक्षार्थीको प्रथम पत्रमा ९ र तृतीय पत्रमा १४ अंक घटाएर अनुत्तीर्ण गराएको पाइएको थियो । आयोगको अनुसन्धानमा उत्तरपुस्तिका परीक्षक गोविन्द ढकाल र टेकनाथ ढकालको प्रत्यक्ष संलग्नतामा अंक फेरबदल गरेको फेला परेको जनाइएको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

अख्तियार

विशेष