दिल्ली पुर्याएर २६ लाख लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता, प्रहरी जवान कार्कीसहित चारजना पक्राउ
काठमाडौं : एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् ।
प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ ।
चारैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारका साथै ठगी मुद्दामा कारबाही अघि बढाइएको ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० गोविन्द थपलियाले बताए । विदेश जाने प्रक्रिया बुझ्न एक कन्सल्टेन्सी धाइरहेका रोक्कालाई सचिन बरालले क्यानडाको सपना देखाएका थिए । उनले आफ्ना दाइ हरि बरालले क्यानडा लैजान सक्ने आश्वासनसँगै मोबाइल नम्बर दिएका थिए ।
क्यानडामा रहेका भनिएका बरालले धेरै खर्च नलाग्ने र आफन्तहरूसँगै क्यानडा आउन भनेपछि रोक्का प्रहरी जवान कार्कीसँग २२ माघमा दिल्ली उडेका थिए । कार्की बरालकै आफन्त भएकाले बाटोमा समस्या नहुने रोक्काको विश्वास थियो ।
दिल्ली पुगेपछि उनलाई २४ हजार डलर भए क्यानडाको स्थायी कार्ड मिल्ने, नत्र जान नमिल्ने भनियो । रोक्का जसरी पनि क्यानडा जान चाहन्थे । उनले पैसा जम्मा गर्न परिवार र आफन्तलाई लगाए । छोराको क्यानडा जाने सपना पूरा गर्न तीन दिनमै उनका बुबा टीकाप्रसादले २४ हजार डलर तयार पारे । देवेन्द्रका बुबा र मामा पैसा लिएर २९ माघमा दिल्ली पुगे ।
उनीहरूलाई लिन विमानस्थलमा सो गिरोहका व्यक्ति पुगेका थिए । बाटोमै पैसा देखाउन भने पनि उनीहरूले मानेनन् । गुँडगाउँको होटेलमा लगेर राखे । होटेलमा पुगेलगत्तै उनीहरूलाई विभिन्न खानेकुरा खान दिइयो । तर, शंका लागेर उनीहरूले खाएनन् । पछि चिया पिएपछि उनीहरू बेहोस भएका थिए । चियामा बेहोस हुने पदार्थ मिसाइएको थियो । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।
लुटपाट