अर्थ

मेलम्चीमा सोझै ठेक्का : एक अर्ब घोटला

डेढ अर्बमा सकिने काम, दुई अर्ब ६३ करोड रुपैयाँको ठेक्का

मेलम्चीमा सोझै ठेक्का : एक अर्ब घोटला

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको पछिल्लो ठेक्का निर्णयमा एक अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको पाइएको छ। आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले छाडेर गएको बाँकी कामका लागि मन्त्रिपरिषद्बाट बिनाप्रतिस्पर्धा ठेक्का दिँदा एक अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको हो।

तीन प्रतिशत कामका लागि आयोजनाले मन्त्रिपरिषद्बाट दुई अर्ब ६३ करोड रुपैयाँमा बिनाप्रतिस्पर्धा ठेक्का दिने निर्णय गरेको थियो। जबकि सीएमसीले त्यही काम एक अर्ब ५५ करोड रुपैयाँमा गर्न लागेको थियो। यसरी डेढ अर्ब रुपैयाँमा सकिने कामलाई दुई अर्ब ६३ करोड रुपैयाँ ठेक्का दिने निर्णय गराएर एक अर्ब आठ करोड रुपैयाँ गोलमाल गरिएको तथ्य अन्नपूर्णले फेला पारेको छ।

सीएमसीले जारी गरेको अन्तरिम भुक्तानी प्रमाणपत्र (इन्टरिम पेमेन्ट सर्टिफिकेट—आइपीसी) नं. ४६ को अन्तिम बिलमा एक अर्ब ५५ करोड रुपैयाँ बाँकी देखिएको छ। सीएमसीले भ्याटसहित सात अर्ब ७२ करोड रुपैयाँमा ठेक्का पाएको थियो। उसले जारी गरेको बिल ६ अर्ब ८३ करोड रुपैयाँको मात्र छ। यो रकममा मूल्य समायोजन, दाबी र भेरिएसन (थप काम) समावेश छैन। बिल पठाएकामध्ये ठेकेदारले पाँच अर्ब ७० करोड रुपैयाँ (विशुद्ध कामको) मात्र भुक्तानी लगेको देखिन्छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

मेलम्ची खानपानी

विशेष