अपराध सुरक्षा

प्रहरी भन्छ : सहरका गुन्डा गाउँ पसे

प्रहरी भन्छ : सहरका गुन्डा गाउँ पसे

काठमाडौं । उपत्यकाका धैरैजसो प्रहरी कार्यालयमा अचेल ‘गुन्डागर्दी’ सम्बन्धी अपराधको उजुरी आउँदैन । यस्तो उजुरी नआउनुमा प्रहरीको सक्रियता नभई गुन्डाहरू जिल्ला तथा गाउँ प्रवेश मुख्य कारण भएको प्रहरीको भनाइ छ । मुलुक सङ्घीय संरचनामा परिवर्तन भएसँगै स्थानीय तथा प्रदेश सरकार गठनपछि काठमाडौँ उपत्यकामा सक्रिय गुन्डाहरू सहरबाट विस्थापित भई जिल्ला र गाउँ पुगेका हुन् । तर, प्रहरी अधिकारी भने प्रहरीकै सक्रियताका कारण गुन्डाहरू पलायन भएको दाबी गर्छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापा धेरैजसो गुन्ड प्रहरीको ‘इन्काउन्टर’बाट जोगिन उपत्यका छोड्न बाध्य भएको बताउँछन् । उनका अनुसार गुन्डागर्दीको समस्या उपत्यकामा छैन । सरकारले सहरी क्षेत्रमा जग्गा प्लटिङ, कित्ताकाट, चन्दा आतङ्क, बालुवा र क्रसर उद्योग सञ्चालनलगायतका क्षेत्रमा हुने गुन्डागर्दी नियन्त्रण गर्न नयाँ रणनीति अपनाएसँगै आर्थिक आयआर्जनको अवसर खोज्दै गुन्डाहरू ग्रामीण क्षेत्रमा पलायन भएका हुन् ।

केही दिनअघि रामेछापको उत्तरी क्षेत्रमा बुद्धचित्त व्यापारमा संलग्न काभ्रे घर भएका एक गुन्डाले गाउँ छिर्न नदिएको गुनासो लिएर स्थानीय दुई व्यक्ति अपराध महाशाखा पुगेका थिए । महाशाखा प्रमुख थापाले भने, “जिल्ला प्रहरीसँग समन्वय गर्न सल्लाह दिएपछि पीडित फर्किए । ”

विशेषगरी उपत्यकाको छिमेकी जिल्ला नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, चितवन, रामेछाप, रसुवा र गोरखामा गुन्डागर्दी हुने गरेको छ । ती जिल्लाका केही जनप्रतिनिधिको कमजोरीका कारण गुन्डागर्दी हुन थालेको भनाइ प्रहरीको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नदीबाट अवैध रूपमा बालुवा झिक्नेदेखि ढुङ्गा खानी सञ्चालनमा नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख, वडा अध्यक्षदेखि गुन्डाहरूसम्मको संयुक्त लगानी छ । जनप्रतिनिधि तथा गुन्डाहरू व्यवसायी ‘पार्टनर’ भएकाले स्थानीय निकायमा सो समस्या देखिएको प्रहरीको दाबी छ ।

क्रसर उद्योग, बालुवा खानी, डोजर, टिप्पर र विकास निर्माणसम्बन्धी ठेक्का सञ्चालन जनप्रतिनिधि र गुन्डाहरूको संयुक्त लगानीमा हुने गरेको छ । धेरैजसो स्थानीय जनप्रतिनिधि गुन्डाको सङ्गतले ‘ठेकेदार’ बनेको वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज कुँवरले स्पष्ट पारे।

नुवाकोट, धादिङ, काभ्रे र गोरखा जिल्लाका जनप्रतिनिधिको संलग्नता बढी देखिएको छ । गुन्डाका नाइके कुमार श्रेष्ठ ‘घैंटे’ र दिनेश अधिकारी ‘चरी’ को ‘इन्कान्टर’ पछि राजधानीमा सक्रिय गुन्डाहरूमा भागदौड नै मच्चिएको थियो ।

अपराध महाशाखाले दुई वर्षअघि १६१ जना गुन्डाको नामावली सार्वजनिक गरेको थियो । सो सूचीमा रहेकामध्ये केही प्रहरीको इन्काउन्टर, केही जेलमा छन् भने अधिकांश सहर छाडेर गाउँ पलायन भएका छन् ।

जिल्लामा सक्रिय गुन्डाहरूलाई राजनीतिक पार्टी र स्थानीय जनप्रतिनिधिबाट नै संरक्षण हुने भएकाले पीडितहरू उजुरी गर्न समेत डराउने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तम सुवेदीले गुन्डाका विरुद्ध उजुरी दिन पीडितहरू डराउने गरेको बताउँछन् ।

“गुन्डाविरुद्ध कहीँकतै उजुरी नै आउँदैन”, उनले भने, “शङ्का लागेमा प्रहरीले नै घोक्य्राएर ल्याउने हो । विगतका वर्षको तुलनामा गुन्डागर्दी घटेको छ तर पूर्ण नियन्त्रण भने भएको छैन ।'' उनले थप्नुभयो, “नडराई उजुरी दिनुहोस्, कारबाही हुन्छ ।” योख खबर आजको गोरखापत्रबाट लिइएको हो।

प्रहरी गुन्डा

विशेष