अपराध सुरक्षा

‘जुवा किङ’ लामा फरार, समूहका अरु पक्राउ

‘जुवा किङ’ लामा फरार, समूहका अरु पक्राउ

काठमाडौं ।  तामा विच्छ्याएर जुवा खेलाउँदै अकुत सम्पत्ति जोडेका जुवा किङ सोम लामा प्रहरीलाई चक्मा हानेर फरार भए पनि सातदोबाटो प्रहरीलाई सोमबार साँझ सफलता मिलेको छ । 

 

डिएसपी गौतम मिश्रको टोलीले झन्डै ११ लाख नगदसहित लामाले खेलाएको खालबाट ७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । 

 

‘केही फरार भएका छन् । हामीले ७ जनालाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएका छौं’, मिश्रले भने,‘एउटा गिरोहले नै यसरी जुवा खेलाएको सूचना पाउनासाथ गोदावारीको एउटा रिसोर्टमा छापा हानेका थियौं ।’

 

गोदावरी नगरपालिका– ३ को वृन्दा वन रिसोर्टबाट १० लाख ८५ हजार नगद, जुवा खेल्न प्रयोग भएका १६ थान कौडा, ८ थान चकटी र मण्डी बरामत गरेको सातदोबाटो प्रहरीले जनाएको छ ।

 

जुवा खेलाउने रिसोर्टका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले शैलेङ्गेश्वरी–४ का बाबुराम तामाङ, रामेछाप मन्थली–३ का मिनबहादुर खत्री, नुवाकोट विदुर नगरपालिकाका शम्भु पाण्डे, गोरखा सिरानचोक गाउँपालिका कुमार लामिछाने, गोरखा अजिरकोट–४ का मदनबाबु दबाडी, ललितपुर–२४ धापाखेलका विनोदप्रसाद घिमिरे र ललितपुर गोदावरी नगरपालिका–३ का सनोज नेपालीलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको छ । 

 

प्रहरी सुत्रका अनुसार लामाको टोलीले नै उक्त जुवा खेलाएको प्रारम्भिक बयान नियन्त्रणमा रहेकाले दिएका छन् । 

 

लामाको गिरोहको नालीबेली 

लामाको जुवा गिरोहले धेरैको विल्लिबाठ बनाएको विवरण प्रहरीसँग छ । यो समूहले पिकनिक जाने भन्दै पनि जुवा खेलाउने गरेको थियो । पछिल्लो पटकको रिसोर्टको घटना पनि यहि प्रकृतिको रहेको प्रहरीले जनाएको छ । 

 

पिकनिक लैजाने बहानामा डाँडा पाखामा समेत जुवा खेलाउन थालेको खुलेको छ । काभ्रे तिमालका लामाले गत साता पिकनिकको नाममा काठमाडौंको मुड्कु भन्ज्याङमा जुवा खेलाउँदै गर्दा १९ लाख रुपैंया सहित पाँच जनालाई बालाजु प्रहरीले पक्राउ गरेको थियो । लामा भने फरार भए ।

 

पछिल्लो समय लामाको समूहले पिकनिकको नाममा जुवा खेलाउँदै सर्वसाधारणको घरबास उठाउँदै आएको स्रोतको दाबी छ । गत महिना लामाको समूहले कपनका एक जनाको ११ आना जग्गा जुवा खेलेर नै पास गरेका थिए । सो जग्गा गोंगबुमा रहेको हाम्रो बहुउद्देश्य सहकारी संस्थामा राखेर लामाले ६० लाख ऋण निकालेका छन् ।

 

स्रोतले भन्यो, ‘लामाको समूहले एक दर्जन बढीलाई सेटिङमा जुवा खेलाएर लुटपाट समेत गरेको छ ।’ गत साता मुड्कु भन्ज्याङमा प्रहरीले पक्राउ गर्नु अघिल्लो दिन सूरज तंडुकार भन्ने एक जुवाडेलाई पैसा जितेर निस्कन लाग्दा लामाको समूहले बन्दुक निकाली निधारमै ठोक्छु भन्दै धम्क्याएको सूचना अपराध महाशाखामा समेत पुगेको थियो । स्रोतका अनुसार यो समूहले अबैध हतियार समेत राख्ने गरेको छ । जुवाडेलाई कंगाल बनाउन यो समूहले राजधानीका एक दर्जन जुवा खेल्ने अखडामा तामा बिछ्याएर राख्ने गरेको स्रोत बताउँछ ।

विशेष