अपराध सुरक्षा

पूर्वउपसचिव शर्माको घरभित्र गोली हान्ने को ?

पूर्वउपसचिव शर्माको घरभित्र गोली हान्ने को ?

काठमाडौं : राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानेको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।

प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर घरमा राखेको दुई थान बन्दुकबाट गोली चलेको हुन सक्ने प्रहरीको आशंका थियो । तर फरेन्सिक जाँचमा घरभित्र भेटिएको गोली ढकालको बन्दुकबाट नचलेको पुष्टिभएपछि प्रहरीले उनलाई छाडेको छ ।

शर्माकी छोरी बस्ने कोठामा राति साढे ९ बजेतिर झ्यालबाट गोली छिरेको थियो । प्रहरीका अनुसार गोली वेगले हानिएजस्तो देखिँदैन । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले गोली कसले हान्यो भन्नेबारे अहिलेसम्म यकिन गर्न नसकिएको बताए । उनले अनुसन्धानको प्रारम्भिक निष्कर्षलाई आधार मान्दै भने, ‘कसैलाई टार्गेट गरेर नभई झुक्किएर गोली छिरेको हुन सक्ने देखिन्छ ।’

घटनास्थलमा प्रहरीले २२ बोर बन्दुकमा प्रयोग हुने २ एमएमको गोलीको खोका बरामद गरेको थियो । प्रहरीले उक्त गोली नेपाली सेना वा सशस्त्र प्रहरीबाट चलेको हो कि भन्नेतिर पनि अनुसन्धान सोझ्याएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

गोली कलंकी

विशेष