विद्युतीय सवारी सरकारको प्राथमिकतामा : अर्थमन्त्री खतिवडा
काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि १४ औँ नाडा अटो सो सुरु भएको छ । अटो मोबाईल एसोसिएशन अफ नेपाल ‘नाडा’ले आयोजना गरेको अटो सो को अर्थमन्त्री युवराज खतिवडाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा उनले सरकारले सवारी व्यवसायमा आयातलाई भन्दा उत्पादनमा सरकारले जोड दिने बताए । सार्वजनिक सवारीमा विद्युतीय सवारी सरकारको प्राथमिकतामा रहेको मन्त्री खतिबडाको भनाइ थियो ।
‘सवारी व्यवसायमा आयातलाई भन्दा उत्पादनमा सरकारले जोड दिन्छ,’ उनले भने, ‘त्यसमा पनि सार्वजनिक सवारीमा विद्युतीय सवारीलाई पहिलो प्राथमिकतामा राख्छौं । हाइब्रिड कार पनि सरकारको प्रथमिकतामै छ । यसले वातावरण प्रदुषण र पेट्रोलियम पदार्थको खपत कम गर्छ ।’
आगामी आइतबारसम्म चल्ने नाडा अटो शो मा विद्युतीय सवारी साधन आकर्षणका रुपमा रहेका छन् । मेलाका अवसरमा बाणिज्य बैंकले समेत गाडी कर्जा उपलब्ध गराउँदैछन् । अटो सो मा विभिन्न ९५ ब्राण्डका सवारी साधन राखिएका छन् ।
मेलामा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता छ । १३ वटा बैंक तथा वित्तीय संस्थाको छुट्टै स्टल राखिएको छ । साथै सवारी साधनका प्रयोग हुने लुब्रिकेन्ट, टायर लगायतका सामाग्रीहरु पनि मेलाको आकर्षणका रुपमा रहेका छन् ।
मेलामा १ सय साठी वटा स्टल रहेका छन् । मेलाका अबसरमा विभिन्न ब्राण्डले आकर्षक छुटको घोषणा समेत गरेका छन् । मेला करिब ७५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।